उदयपुर–२ : प्रतिनिधि फेरिए, सडक उस्तै जीर्ण
उदयपुर, २२ माघ – प्रतिनिधि फेरिँदै आए पनि उदयपुर निर्वाचन क्षेत्र–२ अन्तर्गत पर्ने सिद्धिचरण राजमार्गको मिर्चैया–कटारी–घुर्मी खण्डको अवस्था भने वर्षौंदेखि जस्ताको तस्तै छ। धुलो, खाल्डाखुल्डी र जोखिमपूर्ण यात्राले यहाँका नागरिकको दैनिकी कष्टकर बनेको छ।
कटारी नगरपालिका–८ कोलबोटका बेदबहादुर तामाङ विगत दुई दशकदेखि घरअगाडिको सडक कालोपत्र हुने आशामा छन्। विसं २०६४ यता चारवटा निर्वाचन भए, चारैपटक फरक–फरक प्रतिनिधि निर्वाचित भए, तर सडक सुधारको सपना भने पूरा हुन सकेन। “नेताहरू फेरिए, तर हाम्रो पीडा उस्तै रह्यो,” तामाङले गुनासो गर्नुभयो।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा क्षेत्र–२ मा चुनावी चहलपहल बढेको छ। १३ जना उम्मेदवार मतदाता भेटघाटमा व्यस्त छन्। तर मतदाताको मनमा उत्साहभन्दा आक्रोश बढी देखिन्छ। मुख्य प्रश्न उही छ—के यसपटक सडकको मुहार फेरिन्छ?
७२ किलोमिटर लामो सिद्धिचरण राजमार्ग सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङलाई तराईसँग जोड्ने मुख्य मार्ग हो। साथै, पूर्वको प्रसिद्ध धार्मिकस्थल हलेसी जाने यही प्रमुख बाटो हो। तर सडकको दुरावस्थाका कारण यात्रु, तीर्थयात्री र व्यवसायी सबै प्रभावित छन्। साना सवारीसाधनलाई ४६ किलोमिटर पार गर्न तीन घण्टाभन्दा बढी समय लाग्ने गरेको छ।
सडकको खराब अवस्थाले व्यापार, पर्यटन, शिक्षा र स्वास्थ्यमा समेत नकारात्मक असर पारेको स्थानीय बताउँछन्। धुलोका कारण व्यवसाय धराशयी बन्दै गएका छन् भने विद्यालयका विद्यार्थीमा श्वासप्रश्वाससम्बन्धी समस्या बढ्दै गएको छ।
मिर्चैया–कटारी–घुर्मी सडक योजना कार्यालयका अनुसार मिर्चैयादेखि कटारीसम्मको खण्ड स्तरोन्नतिको चरणमा भए पनि कटारी–घुर्मी खण्ड अझै अन्योलमा छ। चालु आर्थिक वर्षमा एक अर्ब तीन करोड रुपैयाँ बजेट विनियोजन भए पनि प्रक्रियागत कारण ठेक्का अघि बढ्न सकेको छैन।
स्थानीयवासीहरू अब आश्वासनभन्दा काम चाहिएको बताउँछन्। “हामीलाई भाषण होइन, कालोपत्र सडक चाहिएको छ,” उनीहरूको साझा माग छ। आगामी निर्वाचनपछि प्रतिनिधि फेरिएला, तर सडकको अवस्था फेरिन्छ कि फेरिँदैन भन्ने प्रश्न अझै अनुत्तरित छ।

