निर्वाचनको २८ दिन बाँकीः प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खातामार्फत गर्न आयोगको नयाँ कार्यविधि

काठमाडौँ, २२ माघ – निर्वाचन आयोगले आमनिर्वाचनका क्रममा राजनीतिक दल तथा उम्मेदवारले गर्ने प्रचार–प्रसार खर्चलाई पूर्ण रूपमा बैङ्किङ प्रणालीमा आबद्ध गराउने उद्देश्यसहित ‘निर्वाचन प्रचार–प्रसार बैङ्क खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२’ जारी गरेको छ।

आयोगको यही माघ २० गते बसेको बैठकले उक्त कार्यविधि स्वीकृत गरेको हो। निर्वाचन आयोग ऐन, २०७३, निर्वाचन आचारसंहिता, २०८२, आयोगको माघ ८ को निर्णय तथा नेपाल राष्ट्र बैङ्कले माघ १२ मा जारी गरेको निर्देशनका आधारमा कार्यविधि ल्याइएको आयोगले जनाएको छ।

राष्ट्र बैङ्कको निर्देशनअनुसार ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्थामार्फत निर्वाचनसम्बन्धी आर्थिक कारोबारलाई पारदर्शी र अनुशासित बनाउने लक्ष्य राखिएको छ। आयोगका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा सहभागी सबै राजनीतिक दल, ती दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारले प्रचार–प्रसारका लागि प्राप्त गर्ने आर्थिक सहयोग, चन्दा तथा सम्पूर्ण खर्च यही विशेष बैङ्क खातामार्फत गर्नुपर्नेछ।

नगद कारोबार निरुत्साहित गर्दै आम्दानी–खर्चको स्पष्ट अभिलेख राख्न यो व्यवस्था गरिएको हो। कार्यविधिअनुसार राजनीतिक दलले निर्वाचन प्रचार–प्रसारका लागि बैङ्क खाता खोल्न आयोगको सचिवालयबाट सिफारिस लिनुपर्नेछ भने उम्मेदवारका हकमा सम्बन्धित जिल्लाको निर्वाचन कार्यालयबाट सिफारिस गरिनेछ। सिफारिसका आधारमा तोकिएका बैङ्क तथा वित्तीय संस्थामा मात्र खाता खोल्न पाइने व्यवस्था गरिएको छ।

खाता सञ्चालन, कारोबारको सीमा, विवरण पेस गर्ने प्रक्रिया र अनुगमनसम्बन्धी प्रावधानहरू पनि कार्यविधिमा समेटिएका छन्। आयोगले मातहतका निर्वाचन कार्यालय, बैङ्क तथा वित्तीय संस्थालाई कार्यविधिअनुसार आवश्यक काम कारबाही गर्न निर्देशन दिएको छ। साथै, राजनीतिक दल, तिनका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारलाई यस व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि सहयोग र समन्वय गर्न आग्रह गरिएको छ।

निर्वाचन आयोगले प्रचार–प्रसार खर्चलाई आधुनिक बैङ्किङ प्रणालीसँग जोड्नुले निर्वाचन प्रक्रियाप्रति जनविश्वास बढाउने विश्वास व्यक्त गरेको छ। विगतमा खर्चको यथार्थ विवरण नआउनु र नगद कारोबार बढी हुने गुनासो बढ्दै गएको सन्दर्भमा नयाँ कार्यविधिले पारदर्शिता र उत्तरदायित्व बढाउने अपेक्षा गरिएको छ।

Facebook Comments Box