तीस वर्षमाथिका नागरिकका लागि निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण अभियान

धुलिखेल, २२ माघ – काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकाले ३० वर्षभन्दा माथिका नागरिकका लागि निःशुल्क स्वास्थ्य परीक्षण तथा आवश्यक औषधि वितरण अभियान सुरु गरेको छ। आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रमअन्तर्गत ‘महाभारत बन्दै छ, बाआमालाई सन्चै छ ?’ शीर्षकको कार्यक्रममार्फत बुधबारदेखि अभियान थालिएको हो।

गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले वडा नं ६ बनखुको मगरगाउँस्थित बनखु मगरगाउँ स्वास्थ्य चौकीबाट अभियानको शुभारम्भ गर्नुभयो। उहाँका अनुसार यही माघ २८ गतेसम्म ४१ वटा केन्द्रमार्फत समुदायस्तरमा स्वास्थ्य परीक्षण, स्वास्थ्य शिक्षा तथा परामर्श सेवा प्रदान गरिनेछ।

“समुदायमा लुकेर रहेका र उपचारको पहुँच बाहिर रहेका उच्च रक्तचाप र मधुमेहका बिरामीको पहिचान गरी उपचारमा ल्याउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो,” अध्यक्ष जिम्बाले भन्नुभयो, “यससँगै मिर्गौलासम्बन्धी समस्या समयमै पहिचान गरी आवश्यक उपचारका लागि प्रेषण गर्ने र स्वस्थ्यकर खानपान तथा नसर्ने रोगबारे जनचेतना फैलाउने लक्ष्य राखिएको छ।”

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरिसिं विष्टका अनुसार हाल उच्च रक्तचापको नियमित परीक्षण भइरहेको छ र समस्या देखिएका व्यक्तिहरू औषधि सेवन गरिरहेका छन्। उहाँले १६ जना मधुमेहका बिरामी नियमित उपचारमा रहेको जानकारी दिनुभयो। अभियानअन्तर्गत उच्च रक्तचाप, मधुमेह, मिर्गौलाको कार्य परीक्षण तथा उचाइअनुसार तौलको अनुपात परीक्षण सेवा उपलब्ध गराइएको छ।

बनखु स्वास्थ्य चौकीमा सञ्चालन भएको परीक्षणको पहिलो दिन १४१ जनाले सेवा लिएका छन्। नसर्ने रोगका कारण व्यक्ति, परिवार, समाज र राज्यमा ठूलो आर्थिक भार पर्ने भएकाले रोगको समयमै पहिचान गरी जोखिम न्यूनीकरण गर्ने उद्देश्यले परामर्श सेवासमेत दिइँदै आएको गाउँपालिकाले जनाएको छ।

गत आर्थिक वर्ष २०८१/८२ मा पालिकाभर एक हजार ९०७ जनामा नसर्ने रोगको परीक्षण गरिएको थियो। तीमध्ये १४१ जनाले हाल औषधि सेवन गरिरहेका छन्, जसका लागि गाउँपालिकाले निःशुल्क औषधि उपलब्ध गराउँदै आएको जनाएको छ।

Facebook Comments Box