बाजुरामा १ हजार ८०६ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप
बाजुरा, २० माघ – बाजुरामा पाठेघरको मुखको क्यान्सरविरुद्ध १ हजार ८०६ जना किशोरीलाई खोप लगाइने भएको छ। स्वास्थ्य कार्यालयका अनुसार राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत यही माघ २७ गतेदेखि फागुन ३ गतेसम्म जिल्लाभर नियमित खोपका रूपमा एचपिभी (पाठेघरको मुखको क्यान्सरविरुद्ध) खोप अभियान सञ्चालन गरिनेछ।
स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख लालबहादुर खड्काका अनुसार यस वर्ष कक्षा ६ मा अध्ययनरत १ हजार ७८१ जना र विद्यालय बाहिर रहेका २५ जना किशोरीलाई खोप दिइनेछ। विद्यालय बाहिर रहेका किशोरीमध्ये बुढीगङ्गा गाउँपालिकामा १६, बडिमालिका नगरपालिकामा छ र त्रिवेणी नगरपालिकामा एक जना रहेका छन्।
गत वर्ष जिल्लामा अभियानकै रूपमा सात हजारभन्दा बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइएको थियो। यो वर्ष भने नियमित खोप कार्यक्रमअन्तर्गत विद्यालयमा अध्ययनरत कक्षा ६ का किशोरीसँगै विद्यालय बाहिर रहेका किशोरीलाई पनि समेटिएको स्वास्थ्य कार्यालयले जनाएको छ।
जिल्लाका नौवटै स्थानीय तहका विद्यालयमा स्थापना गरिएका खोप केन्द्रमार्फत खोप सेवा प्रदान गरिनेछ भने स्वास्थ्य संस्थाबाट पनि खोप लगाउन सकिने व्यवस्था गरिएको छ। खोप अभियान गौमुल गाउँपालिका तथा बुढीगङ्गा र त्रिवेणी नगरपालिकामा माघ २७ गते, स्वामीकार्तिक खापर, जगन्नाथ, खप्तड छेडेदह गाउँपालिका र बडिमालिका नगरपालिकामा माघ २८ गतेदेखि तथा हिमाली गाउँपालिकामा माघ २९ गतेदेखि सञ्चालन हुने खड्काले जानकारी दिनुभयो।
स्वास्थ्य कार्यालयका अनुसार किशोरीहरूमा पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एचपिभी खोप अत्यन्त प्रभावकारी भएकाले यस अभियानलाई विशेष प्राथमिकताका साथ सञ्चालन गरिएको हो। कार्यालयको तथ्याङ्कअनुसार गत वर्ष जिल्लाभर ९८ प्रतिशत किशोरीले उक्त खोप लगाएका थिए।

