गलेश्वर–पुलाश्रम–जगन्नाथ सडक योजना लक्ष्यभन्दा पाँच महिनाअघि सम्पन्न
म्याग्दी, २० माघ – बेनी नगरपालिकाका तीन प्रमुख धार्मिकस्थल गलेश्वर, पुलाश्रम (पछै) र जगन्नाथलाई जोड्ने सडक स्तरोन्नति योजना लक्ष्यभन्दा पाँच महिनाअघि नै सम्पन्न भएको छ। पूर्वाधार विकास कार्यालयमार्फत सञ्चालन गरिएको एक वर्षे निर्माण अवधिको उक्त योजना गण्डकी प्रदेश सरकारको रु तीन करोड ५९ लाख ९८ हजार बजेट सुनिश्चिततामा अघि बढाइएको हो। योजनाको निर्माणका लागि बिबिपीएल–बिएसडीएस धवलागिरि छनोट भएको थियो।
विसं २०८२ असार १६ गते रु दुई करोड २३ लाख ४६ हजारमा ठेक्का सम्झौता भएको योजनाको ठेक्का अवधि २०८३ असार १६ गतेसम्म तोकिएको थियो। निर्माण व्यवसायीले पर्याप्त मजदुर र उपकरण परिचालन गर्नुका साथै निर्माण सामग्रीको समयमै व्यवस्थापन, स्थानीयस्तरको सहजीकरण, नियमित निगरानी र सम्बन्धित कार्यालयबीचको समन्वयका कारण योजना लक्ष्यअघि नै सम्पन्न भएको बेनी नगरपालिका–९ का वडाध्यक्ष चक्र केसीले बताउनुभयो।
“अधिकांश विकास आयोजना ढिलासुस्तीका कारण प्रभावित भइरहेका बेला इच्छाशक्ति, समन्वय र सहजीकरण भएमा योजना समयमै सम्पन्न गर्न सकिन्छ भन्ने सन्देश यो आयोजनाले दिएको छ,” उहाँले भन्नुभयो, “निर्माण क्रममा देखिन सक्ने सामाजिक समस्या समाधानका लागि सरोकार समिति गठन गरेर सहजीकरण गरिएको थियो।”
पूर्वाधार विकास कार्यालयका प्रमुख सिनियर डिभिजन इन्जिनियर डा महेन्द्र बानियाँका अनुसार योजनाअन्तर्गत बेनी नगरपालिका–९ गलेश्वरदेखि काउलेगौडा हुँदै कोशेपानी खण्डमा ३०० मिटर ढलान गरिएको छ भने एक हजार १०० मिटर सडक फराकिलो बनाइएको छ। साथै घुम्ती तथा ग्रेड सुधार, पर्खाल र नाली निर्माण गरिएको छ।
यसअघि चार मिटर चौडाइको सडकलाई स्तरोन्नति गरी सात मिटर चौडा बनाइएको छ। म्याग्दी हुँदै मुस्ताङ जाने तीर्थयात्रीलाई गलेश्वर, पछै र जगन्नाथसम्म आकर्षित गर्ने, बसाइ अवधि लम्ब्याउने र स्थानीयवासीको आवागमन सहज बनाउने उद्देश्यले उक्त सडक स्तरोन्नति गरिएको हो।
गलेश्वर हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्वारका रूपमा परिचित छ भने पछैमा रामायणका पात्र रावणको जन्मस्थल रहेको जनविश्वास छ। जगन्नाथ क्षेत्रमा तत्कालीन पर्वत राज्यका राजा दिलीप बम मल्लद्वारा निर्माण गरिएको शिखर शैलीको ऐतिहासिक मन्दिर अवस्थित छ।
सडकको बाँकी खण्ड स्तरोन्नतिका लागि प्रदेश सरकारसँग बजेट व्यवस्थापनको पहल भइरहेको वडाध्यक्ष केसीले जानकारी दिनुभयो। अघिल्लो कार्यकालमा बेनी नगरपालिकामार्फत गलेश्वर–काउलेगौडा क्षेत्रमा करिब दुई किलोमिटर सडक स्तरोन्नति भइसकेको छ।

