सरकार कुनै दलको प्रभावमा छैनः प्रधानमन्त्री कार्की

काठमाडौँ, १९ माघ – प्रधानमन्त्री सुशीला कार्कीले केही मन्त्रीले पदबाट राजीनामा दिएर निर्वाचनमा सहभागी भएकै आधारमा सरकारमाथि कुनै राजनीतिक दलको प्रभाव रहेको आरोप सही नभएको स्पष्ट गर्नुभएको छ ।

राष्ट्रिय सभाको आजको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले अन्तरिम सरकारका मन्त्रीहरूले राजीनामा दिएपछि निर्वाचनमा लड्नु स्वाभाविक र इमानदार प्रक्रिया भएको बताउनुभयो ।

“जेनजी आन्दोलनको आग्रहमा उहाँहरू मन्त्री बन्नुभएको हो । जिम्मेवारीमा रहँदा इमानदार रूपमा काम गर्नुभयो । राजीनामा दिएपछि निर्वाचनमा भाग लिनु वा आफ्नो रुचिको क्षेत्रमा जान पाउनुहुन्छ,” उहाँले भन्नुभयो ।

मन्त्रीहरूले चुनावमा भाग लिएकै कारण सरकार राष्ट्रिय स्वतन्त्र पार्टी वा अन्य कुनै दलको प्रभावमा रहेको भन्ने टिप्पणी निराधार भएको प्रधानमन्त्रीको भनाइ छ । “हामी कसैको प्रभावमा छैनौँ । म आफैँ पनि कुनै राजनीतिक व्यक्ति होइन,” उहाँले स्पष्ट गर्नुभयो ।

वर्तमान अन्तरिम सरकारमा मन्त्री रहनुभएका कुलमान घिसिङ, जगदीश खरेल, महावीर पुन र बब्लु गुप्ताले राजीनामा दिएर निर्वाचन प्रतिस्पर्धामा उत्रनुभएको छ ।

प्रधानमन्त्री कार्कीले २०८२ भदौ २३ र २४ गते जेनजी युवाहरूको नेतृत्वमा भएको आन्दोलनपछि देशलाई संवैधानिक लयमा फर्काउने जिम्मेवारीका साथ अन्तरिम सरकार गठन भएको बताउनुभयो ।

उहाँले आन्दोलनका क्रममा सहादत प्राप्त गर्नेहरूलाई सहिद घोषणा गरिएको, घाइतेहरूको उपचार र राहतलाई प्राथमिकता दिइएको जानकारी दिनुभयो ।

प्रधानमन्त्रीले आन्दोलन भ्रष्टाचार, सुशासनको अभाव र राज्य सञ्चालनप्रतिको जनअसन्तोषको प्रतिविम्ब भएको उल्लेख गर्दै त्यसबाट उठेका मागलाई सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

सार्वजनिक निकायलाई पारदर्शी र उत्तरदायी बनाउँदै भ्रष्टाचार न्यूनीकरणका लागि रणनीतिक योजना अन्तिम चरणमा पुगेको उहाँको भनाइ छ ।

आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार मनोनयन सम्पन्न भइसकेको र चुनावलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सम्पूर्ण सुरक्षा संयन्त्र परिचालन गरिएको प्रधानमन्त्रीले जानकारी दिनुभयो ।

प्रधानमन्त्री कार्कीले यो निर्वाचनलाई केवल जनप्रतिनिधि चयनको प्रक्रिया मात्र नभई नयाँ राजनीतिक संस्कृतिको सुरुआतका रूपमा लिन आग्रह गर्नुभयो ।

साथै, सदाचार, मितव्ययिता र विधिको शासनप्रति सरकारको प्रतिबद्धता दोहोर्याउँदै भ्रष्टाचार, दण्डहीनता र अन्याय अन्त्यका लागि सबै निकाय एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

Facebook Comments Box