मुग्लिन–नारायणगढ सडकखण्डमा बस पल्टिँदा ३८ जना घाइते
चितवन, १६ माघ – चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा बस पल्टिँदा ३८ जना यात्रु घाइते भएका छन् । दाङबाट काठमाडौँतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ०४६६० नम्बरको नाइट बस आज बिहान करिब ३ बजेर १० मिनेटमा मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत ‘घुमाउने’ भन्ने स्थानमा सडकमै पल्टिएको हो ।
दुर्घटनापछि प्रहरीले तत्काल उद्धार गरी घाइतेहरूलाई उपचारका लागि भरतपुर र मुग्लिनका विभिन्न अस्पतालमा पठाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मौलाकालिका अस्पताल भरतपुरमा १५ जना, पुरानो मेडिकल कलेज भरतपुरमा १३ जना, नयाँ मेडिकल कलेज भरतपुरमा चार जना र जनता केयर अस्पताल मुग्लिनमा छ जना घाइतेको उपचार भइरहेको छ ।
बस पल्टिएपछि केही समय अवरुद्ध बनेको सडक हाल खुलिसकेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको र विस्तृत विवरण आउन बाँकी रहेको जनाइएको छ ।

