आँखारोगीको खोजी गर्दै पौवादुङमा

भोजपुर, १८ माघ  – ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गरी सहज रूपमा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले पौवादुङमा गाउँपालिकामा निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरिने भएको छ । गाउँपालिकाले गाउँघरमै पुगेर सेवा प्रदान गर्ने लक्ष्यसहित सबै वडामा शिविर सञ्चालन गर्न लागेको हो ।

गाउँपालिकाको समन्वयमा नवदृष्टि आँखा अस्पताल प्रालि, खाँदबारी–१ तुम्लिङटार तथा सगुन आँखा उपचार केन्द्रको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिनेछ । स्थानीय बासिन्दालाई घरनजिकै गुणस्तरीय आँखा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले वडावडामा शिविर आयोजना गर्न लागिएको गाउँपालिकाका अध्यक्ष किरण राईले जानकारी दिनुभयो ।

अध्यक्ष राईका अनुसार यही माघ १८ गतेदेखि २३ गतेसम्म शिविर सञ्चालन हुनेछ । गाउँघरमा रहेका आँखारोगीको पहिचान गरी समयमै उपचार सुनिश्चित गर्ने उद्देश्यले शिविर आयोजना गरिएको हो । “स्थानीय सरकारको सेवालाई गाउँस्तरसम्म सहज रूपमा विस्तार गर्दै आँखारोगीको पहिचान र उपचारका लागि शिविर सञ्चालन गर्न लागेका हौँ,” उहाँले भन्नुभयो, “सबै वडामा शिविर सञ्चालन गरेर नागरिकलाई घरनजिकै सेवा प्रदान गर्नेछौँ।”

कार्यक्रमअनुसार माघ १८ गते वडा नं ५ सानोदुम्मा, माघ १९ गते वडा नं ४ बास्तिम, माघ २० गते वडा नं ६ ठूलोदुम्मा, माघ २१ गते वडा नं २ तिवारीभञ्ज्याङ, माघ २२ गते वडा नं १ श्यामशिला र माघ २३ गते वडा नं ३ च्याङ्ग्रेमा शिविर सञ्चालन गरिनेछ ।

शिविरमा निःशुल्क आँखा जाँच, चश्मा जाँच, औषधि वितरणलगायत सेवा उपलब्ध गराइनेछ । मोतियाविन्दुका कारण आँखा नदेख्ने बिरामीको नवदृष्टि आँखा अस्पताल तुम्लिङटारमा निःशुल्क शल्यक्रिया गरिने अध्यक्ष राईले बताउनुभयो ।

मोतियाविन्दुको शल्यक्रियामा ‘फोल्डेबल लेन्स’ प्रयोग गर्न चाहेमा २० प्रतिशत छुटको व्यवस्था गरिएको छ । साथै, शल्यक्रिया गर्नुपर्ने बिरामीको निःशुल्क ल्याब परीक्षण, आँखामा मासु (प्टेरिजियम) पलाएको अवस्थामा शल्यक्रियामा २० प्रतिशत छुट तथा सहुलियत दरमा चश्मा उपलब्ध गराइने छ । गाउँपालिकाले सबै वडावासीलाई तोकिएको स्थानमा उपस्थित भई निःशुल्क सेवा लिन आग्रह गरेको छ ।

Facebook Comments Box