दन्तकाली मन्दिर श्रद्धालुको आस्थाको केन्द्र
धरान (सुनसरी), १८ माघ – धरान उपमहानगरपालिका–१४ स्थित विजयपुर क्षेत्रमा अवस्थित पौराणिक धार्मिकस्थल दन्तकाली मन्दिर श्रद्धालुको प्रमुख आस्थाको केन्द्र बन्दै गएको छ । धार्मिक विश्वास, ऐतिहासिक महत्व र प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस मन्दिरमा दैनिक रूपमा ठूलो सङ्ख्यामा भक्तजन दर्शनका लागि पुग्ने गरेका छन् ।
इटहरी उपमहानगरपालिका–७ की रञ्जिता बस्नेतले हरेक वर्ष स्वस्थानी व्रत बस्दै आएको बताउनुभयो । उहाँ स्वस्थानी व्रतको अवधिमा कम्तीमा दुई पटक दन्तकाली मन्दिरमा पूजा गर्न आउने गर्नुहुन्छ । “शुद्ध मनले मागेका इच्छा पूरा हुन्छन् भन्ने विश्वासले यहाँ नियमित आउने गर्छु,” उहाँले भन्नुभयो ।
दन्तकाली मन्दिरमा चिताएको कुरा पूरा हुने जनविश्वास रहिआएको छ । धरान–१४ विजयपुरमा अवस्थित यस पौराणिक शक्तिपीठमा हाल दैनिक दर्शनार्थीको उल्लेख्य भीड लाग्ने गरेको मन्दिरका मूलपुजारी विश्वराज खनालले जानकारी दिनुभयो । उहाँका अनुसार पौष शुक्ल पूर्णिमादेखि सुरु भई एक महिनासम्म चल्ने स्वस्थानी व्रतका कारण यस अवधिमा भक्तजनको आवागमन झनै बढ्ने गर्दछ ।
दन्तकाली मन्दिरसँगै वरपरका अन्य धार्मिकस्थलको पनि दर्शन गर्न सकिने भएकाले श्रद्धालुको आकर्षण थपिएको पुजारी खनालको भनाइ छ । स्वस्थानी व्रत सुरु भएपछि बिहानैदेखि पूजा–अर्चनाका लागि भक्तजन आउने क्रम बढेको उहाँले बताउनुभयो । धरान–१५ की गोमा भट्टराईले पनि फुर्सद मिल्नेबित्तिकै दन्तकाली मन्दिर पुग्ने गरेको जानकारी दिनुभयो ।
विराटनगरबाट आएका सुरेश खत्री र उहाँकी श्रीमती सुनिताले स्वस्थानी व्रतको अवसरमा दर्शन गर्न मन्दिर आएको बताउनुभयो । स्वस्थानी व्रतकथाअनुसार दक्ष प्रजापतिकी छोरी सतीदेवीले पति महादेवको निन्दा सहन नसकी यज्ञकुण्डमा प्राण त्याग गरेपछि महादेव शोकाकुल भई सतीदेवीको शव बोकेर भौँतारिँदा शरीरका अङ्ग जहाँ–जहाँ पतन भए, त्यहाँ शक्तिपीठ स्थापना भएको विश्वास छ । यही क्रममा विजयपुर पर्वतखण्डमा सतीदेवीको दाँत पतन भएकाले उक्त स्थान ‘दन्तकाली’ नामले प्रसिद्ध भएको धार्मिक कथामा उल्लेख छ ।
पौराणिक कथामा उल्लेखित शक्तिपीठ भएकाले दन्तकाली मन्दिरको धार्मिक महत्व विशेष रहेको स्थानीयको भनाइ छ । नेपाल तथा भारतलगायत टाढाटाढाबाट श्रद्धालु यहाँ दर्शनका लागि आउने गरेका छन् । सामान्य दिनमा दैनिक सयौँ भक्तजन आउने गरेका छन् भने शनिबार र मङ्गलबार पाँच सयभन्दा बढी श्रद्धालु मन्दिर पुग्ने गरेको पुजारी खनालले बताउनुभयो ।
दन्तकाली मन्दिरमा हरेक वर्ष असोज, माघ, चैत र असार महिनामा चारवटा नवरात्रमा विशेष पूजा–अर्चना गरिन्छ । विशेषगरी विजयादशमीको नवरात्रमा घटस्थापनादेखि अष्टमी, नवमी र दशमीसम्म ठूलो भीड लाग्ने गर्दछ । यस अवधिमा पूजा गरे मनोकामना पूरा हुने, रोगव्याधि नाश हुने र दुःख हट्ने जनविश्वास रहिआएको छ ।
दन्तकाली मन्दिरको स्थापना कहिले भएको भन्ने यकिन नभए पनि स्वस्थानी व्रतकथा तथा पुराणमा उल्लेख भएकाले यसलाई अत्यन्तै पुरानो धार्मिकस्थलका रूपमा लिइन्छ । मन्दिरमा सयौँ वर्षदेखि खनाल थरका पुजारीले पूजा गर्दै आएका छन् । हालका मूलपुजारी विश्वराज खनाल आठौँ पुस्ताका पुजारी हुनुहुन्छ । मन्दिरसँग सम्बन्धित विसं १८६८ मा राजा गीर्वाणयुद्धविक्रम शाहबाट प्राप्त ताम्रपत्र र लालमोहर पनि सुरक्षित छन् ।
धरान भ्रमणमा आउने पर्यटकले प्रायः भानुचोकबाट उकालो लागेर दन्तकाली, बुढासुब्बा र पिण्डेश्वर मन्दिरको दर्शन गर्दै विजयपुर डाँडाको अवलोकन गर्ने गरेका छन् । दर्जनौँ मठमन्दिर रहेको विजयपुर डाँडा धार्मिक तथा ऐतिहासिकस्थलका रूपमा परिचित छ । विजयपुरलाई पर्यटन केन्द्रका रूपमा विकास गर्न सके नेपाल र भारतबाट आउने धार्मिक पर्यटकको सङ्ख्या अझ बढ्ने धरान–१४ का वडाध्यक्ष कृष्ण भट्टराईले बताउनुभयो ।
इतिहासमा विजयपुर क्षेत्रमा सेन वंशको शासन रहेको पाइन्छ । सेन तथा त्यसपछिका राजाहरूले दन्तकालीलाई शक्तिपीठका रूपमा मान्दै घण्ट, त्रिशूल चढाउने गरेको उल्लेख पाइन्छ । स्थानीयका अनुसार विसं २०३५ अघि मन्दिर हालको स्वरूपमा थिएन । पछि विस्तार र पुनर्निर्माण गरी अहिलेको स्वरूप दिइएको हो । हाल मन्दिरको छानामाथि धातुको गजुरसमेत स्थापना गरिएको छ ।

