कामपाले बहाल कर घटायो, घरघरमै नागरिकता र राष्ट्रिय परिचयपत्र सेवा दिने

काठमाडौं, ५ असार – काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बहाल करको दरमा हेरफेर गर्दै आवासीय प्रयोजनका घरबहालमा लाग्ने कर घटाएको छ। बिहीबार आगामी वर्षको बजेट प्रस्तुत गर्दै कार्यवाहक प्रमुख सुनिता डंगोलले वार्षिक दुई लाख ४० हजार रुपैयाँभन्दा बढी बहाल आम्दानी हुने आवासीय घरको बहाल कर १० प्रतिशतबाट घटाएर सात प्रतिशत कायम गरिएको जानकारी दिनुभयो। दुई लाख ४० हजार रुपैयाँभन्दा कम आम्दानी हुने घरबहालमा भने पाँच प्रतिशत कर लाग्नेछ।

महानगरले करको दायरा विस्तार गर्न असोज मसान्तभित्र कर तिर्ने नयाँ करदातालाई १० प्रतिशत छुट दिने तथा सोही अवधिभित्र बक्यौता कर बुझाउनेलाई जरिवाना मिनाहा गर्ने व्यवस्था पनि गरेको छ। केही सिफारिस दस्तुर निःशुल्क गर्ने र कर प्रणालीलाई थप व्यवस्थित बनाउन सरोकारवाला निकायसँग सहकार्य गरिने जनाइएको छ।

आगामी आर्थिक वर्षदेखि महानगरले घरघरमै नागरिकता र राष्ट्रिय परिचयपत्र सेवा उपलब्ध गराउने भएको छ। युवा लक्षित स्वरोजगार कार्यक्रम सञ्चालनका लागि १० करोड रुपैयाँ विनियोजन गरिएको छ भने सहिद तथा अमर प्रहरीको स्मारक निर्माणको व्यवस्था पनि बजेटमा समेटिएको छ।

स्वास्थ्य क्षेत्रतर्फ महानगरले आफ्नै अस्पताल निर्माण प्रक्रिया सुरु गर्ने भएको छ। बहुवर्षीय योजनाअन्तर्गत पहिलो वर्षका लागि चार करोड रुपैयाँ विनियोजन गरिएको छ। साथै टोलटोलमा योग अभ्यास कार्यक्रम सञ्चालन, ज्येष्ठ नागरिकका लागि निमोनिया खोप कार्यक्रम, क्यान्सरजस्ता जटिल रोगको निदान तथा उपचारका विशेष कार्यक्रम र स्वास्थ्यजन्य फोहोर व्यवस्थापन केन्द्र स्थापना गर्न बजेट छुट्याइएको छ।

महानगरले निःशुल्क एम्बुलेन्स सेवा कार्यक्रमलाई निरन्तरता दिएको छ भने स्वनिगः विश्वविद्यालय स्थापनाका लागि प्रारम्भिक कानुनी तथा व्यवस्थापकीय तयारी गर्न ५० लाख रुपैयाँ विनियोजन गरेको छ। पोषण भत्ता कार्यक्रमका लागि १६ करोड रुपैयाँ छुट्याइएको छ।यसैबीच, कक्षा ११ र १२ को छात्रवृत्ति कार्यक्रममा बाँकी रहेका एक हजार ५७६ सिटका लागि महानगरले पुनः अनलाइन आवेदन खुला गरेको छ।

पहिलो र दोस्रो मनोनयन सूचीमा समावेश हुन नसकेका विद्यार्थीले असार ८ गते साँझ ५ बजेसम्म विषय र शिक्षण संस्थाको प्राथमिकता छनोट गरी आवेदन दिन सक्नेछन्। महानगरका अनुसार यस वर्ष १४५ शिक्षण संस्थामा चार हजार ८५७ छात्रवृत्ति कोटा निर्धारण गरिएको थियो। पहिलो र दोस्रो चरणबाट तीन हजार २८१ विद्यार्थी भर्ना भइसकेपछि बाँकी सिटका लागि अन्तिम मनोनयन प्रक्रिया सुरु गरिएको हो।

Facebook Comments Box