मेची पुलको ब्यारिकेटमा ठोक्किँदा मोटरसाइकल पछाडि सवारको मृत्यु
झापा, १७ माघ – मेचीनगर नगरपालिका–६ स्थित मेची पुलमा भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकल शुक्रबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।नेपालतर्फ आउँदै गरेको प्र१–०१–०१२ प ३८४९ नम्बरको मोटरसाइकल राति करिब १० बजे सडकमा राखिएको ब्यारिकेटमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार मेचीनगर–६ निवासी ४० वर्षीय चेतन कटुवाल गम्भीर घाइते हुनुभएको थियो । उहाँलाई उपचारका लागि मेची आम्दा अस्पताल धुलाबारी लगिएकोमा राति १०ः५५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् । दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर–६ निवासी ३५ वर्षीय काशीनाथ पौडेल पनि घाइते हुनुभएको छ ।
उहाँको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ । मृतकको शव हाल मेची आम्दा अस्पतालमै राखिएको छ ।

