निर्वाचन ३४ दिन बाँकी, विभिन्न जिल्लाका मतपत्रको नमूना सार्वजनिक
काठमाडौँ, १६ माघ – निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रका मतपत्रको नमूना सार्वजनिक गरेको छ । आयोगले सातवटै प्रदेश अन्तर्गतका जिल्लाका मतपत्रको नमूना सार्वजनिक गरेको हो ।
एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लाका लागि एक प्रकारको र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाका लागि फरक प्रकारको मतपत्रको नमूना सार्वजनिक गरिएको आयोगले जनाएको छ । उम्मेदवारको सङ्ख्याका आधारमा पनि मतपत्रको आकार फरक हुने आयोगले स्पष्ट पारेको छ । उम्मेदवार बढी भएका निर्वाचन क्षेत्रमा मतपत्रको आकार तुलनात्मक रूपमा ठूलो र कम उम्मेदवार भएका निर्वाचन क्षेत्रमा सानो मतपत्र रहनेछ ।
सबैभन्दा धेरै निर्वाचन क्षेत्र तथा उम्मेदवार रहेको काठमाडौँ जिल्लामा मतपत्रको आकार सबैभन्दा ठूलो हुने आयोगले जनाएको छ । आयोगका अनुसार कर्णाली प्रदेशअन्तर्गत सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट र रुकुमपश्चिममा एक–एक निर्वाचन क्षेत्र रहेका छन् भने दैलेख र सुर्खेतमा दुई–दुई निर्वाचन क्षेत्र रहेका छन् । ती जिल्लाका वास्तविक मतपत्रको नमूनासमेत सार्वजनिक गरिएको छ ।
यसैगरी, सुदूरपश्चिम प्रदेशअन्तर्गत बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेल्धुरामा एक–एक निर्वाचन क्षेत्र रहेका छन् । अछाममा दुई, कञ्चनपुरमा तीन र कैलालीमा पाँच निर्वाचन क्षेत्र रहेका छन् । ती सबै निर्वाचन क्षेत्रका वास्तविक मतपत्रको नमूना पनि आयोगले सार्वजनिक गरेको छ ।
अन्य जिल्लाका वास्तविक मतपत्रको नमूना क्रमशः सार्वजनिक गरिँदै जाने आयोगले जनाएको छ । भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइको काम जारी रहेको र समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगको भनाइ छ ।
यसैबीच, आयोगले निर्वाचन सचेतना अभिवृद्धिका लागि विभिन्न जिल्लाका विभिन्न निर्वाचन क्षेत्रअनुसार नमूना मतपत्र तयार पारेर मतदाता सचेतना कार्यक्रमसमेत सञ्चालन गरिरहेको जनाएको छ । सचेतनाका लागि तयार पारिएका नमूना मतपत्र मतदान केन्द्रसम्म पुर्याउने काम पनि अघि बढाइएको छ ।

