चुनावी खाता खोल्ने प्रबन्ध मिलाउन राष्ट्र बैंकको निर्देशन
काठमाडौँ, १३ माघ – नेपाल राष्ट्र बैंकले निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्ने व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। निर्वाचन आयोगको अनुरोधपछि केन्द्रीय बैंकले एक पत्रमार्फत निर्वाचनसम्बन्धी गतिविधिका लागि आवश्यक बैंक खाता खोल्ने प्रबन्ध मिलाइदिन आग्रह गरेको हो।
राष्ट्र बैंकका अनुसार निर्वाचन आयोग मातहतका प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयको सिफारिसमा निर्वाचन आयोगले खाता बन्द गर्न निर्देशन नदिँदासम्म सञ्चालन हुने गरी बैंक खाता खोल्न सकिने व्यवस्था गरिएको छ। साथै, आम निर्वाचन अभियान समूहले नेपाली मुद्रामा आम्दानी–खर्चसम्बन्धी कारोबार गर्न सक्ने गरी खाता खोल्ने प्रबन्ध मिलाइएको छ।
त्यसैगरी, प्रत्येक राजनीतिक दल, ती दलबाट प्रतिनिधित्व गर्ने समानुपातिक तथा प्रत्यक्ष उम्मेदवार, साथै स्वतन्त्र उम्मेदवारका लागि छुट्टाछुट्टै बैंक खाता खोली सञ्चालनको व्यवस्था मिलाउन राष्ट्र बैंकले सूचनामार्फत आग्रह गरेको छ।

