स्थानीय निर्वाचनमा मोरङमा गठबन्धन हुने सम्भावना न्यून

मोरङ, ४ वैशाख – स्थानीय निर्वाचनमा गठबन्धन गरेर जाने विषयमा का चार पार्टीबीच सहमति हुने सम्भावना कमजोर बन्दै गएको छ । विराटनगरस्थित काँग्रेस पार्टी कार्यालयमा शुक्रबार र शनिबार बसेको संयुक्त बैठकले ठोस निर्णय गर्न नसकेपछि गठबन्धनको सम्भावना कमजोर बनेको हो ।

कुन पालिकामा कसको अवस्था के भन्ने विषयमा अध्ययन गर्न र कसलाई नेतृत्व दिँदा ठिक हुन्छ भन्ने विषयमा सुझाव पेस गर्न गठित कार्यदलको बैठक बस्दै गर्दा बाहिर भने काँग्रेसका कार्यकर्ताले गठबन्धन विरुद्ध नाराबाजी गरेका थिए । नाराबाजीको क्रम शनिबार पनि जारी रहेको थियो ।

‘हामीले बैठकमा भित्र राखेर बाहिर हाम्रा विरुद्ध किन नाराबाजी गर्न लगाएको भनेर प्रश्न गरेका छौँ,’ माओवादी प्रदेश १ का सचिव गणेश उप्रेती सुशीलले बताए, ‘बाहिर नाराबाजी गर्नेभित्र हामीलाई राख्ने काँग्रेसको दोहोरो चरित्र अन्त्य नभएसम्म छलफल गर्नुको औचित्य देखिँदैन ।’

बैठकमा काँग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले दाबी गरेको सङ्ख्या जोड्दा २७ पुग्छ । ‘आ–आफ्नो धरातल भन्दा धेरै पालिकामा दाबी आएको देखियो,’ माओवादी केन्द्रका केन्द्रीय सदस्य शिवकुमार मण्डलले भने, ‘सबैको जोड्दा मोरङमा १७ पालिका छ, माग सङ्ख्या चाहिँ २७ पुग्यो, अनि कसरी सहमति हुन्छ ? ।’

कार्यदलमा माओवादी केन्द्रका मोरङ संयोजक विजय विश्वास, काँग्रेसबाट जिल्ला उपसभापति भक्तिनाथ माझी, एकीकृत समाजवादीबाट डाक्टर उद्धव पोखरेल र जसपाबाट जिल्ला अध्यक्ष राजकुमार यादव रहेका छन् ।

कार्यदलले दुई दिनभित्रमा जिल्लाका १७ वटै पालिकाको अवस्थाबारे रिपोर्ट तयार पार्ने र त्यस आधारमा पालिका विभाजनको सुझाव दिने कार्यादेश पाएको थियो ।

Facebook Comments Box