विजयराज आचार्यका आठ बालसाहित्यिक कृतिहरूको विमोचन
ललितपुर, १२ माघ – बालसाहित्य समाजका अध्यक्ष विजयराज आचार्यका आठ बालसाहित्यिक कृतिहरू एकसाथ विमोचन गरिएको छ। तेस्रो बालसाहित्य महोत्सवको अवसरमा प्युठान वाङ्मय केन्द्र, काठमाडौँद्वारा पाटन दरबार सङ्ग्रहालयको भण्डारखाल हलमा आज आयोजित कार्यक्रममा आचार्यका ‘दसैँको आशिष’, ‘पाटे चितुवा’, ‘उनीहरू कहाँ गए होलान्’, ‘गोपाल’, ‘महिषपाल’, ‘किराँत’ र ‘डेढ गगरिया’सहित आठ कृतिहरूको विमोचन गरिएको हो।
पुस्तक विमोचन गर्दै सङ्गीत नाट्य प्रतिष्ठानका पूर्वउपकुलपति एवं वरिष्ठ नाट्यकर्मी हरिहर शर्माले एकैपटक आठवटा किताब प्रकाशन हुनु महत्त्वपूर्ण भएको बताउँदै प्रकाशित पुस्तकहरू समयसापेक्ष रहेको उल्लेख गर्नुभयो।
“जुन वर्गलाई लक्षित गरिएको हुन्छ, त्यो वर्ग वा उमेर समूहको मन–मस्तिष्कले मन पराउने खालको विषयवस्तु हुनुपर्छ। आज विमोचन भएका बालसाहित्यिक पुस्तकहरूले यी विषयहरू समेटेका छन्,” उहाँले भन्नुभयो।
राष्ट्रिय समाचार समिति (रासस)का पूर्वसम्पादक प्रमोद प्रधानले बालसाहित्यमा हाम्रो आफ्नै धारणाभन्दा पनि विश्वव्यापी अभ्यास र अवधारणालाई ध्यान दिनुपर्नेमा जोड दिनुभयो। उहाँले बालबालिकाको रुचि र मनोविज्ञानलाई ध्यान दिएर लेखन गर्नुपर्ने धारणा राख्नुभयो।
विमोचन गरिएका पुस्तकहरूको समीक्षा गर्दै प्राध्यापक डा. गोविन्द पौडेलले हिजोको इतिहासलाई सरल र कलात्मक ढङ्गले प्रस्तुत गरिएको बताउनुभयो। ‘डेढ गगरिया’ कृतिबारे साहित्यकार कृष्णराज सर्वहारीले यस पुस्तकमा पाँचवटा लोककथा समेटिएको उल्लेख गर्दै कथाहरूसँग प्रसङ्ग मिल्ने गीतहरू राखिएको भए अझ उपयुक्त हुने धारणा राख्नुभयो। यो पुस्तक थारु समुदायका बालबालिकाका लागि उपयुक्त हुने उहाँको भनाइ थियो।

