रवि लामिछानेविरुद्धका मुद्दामा थप प्रमाण पेश गर्न सर्वोच्चको आदेश

काठमाडौँ, १२ माघ – सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध लगाइएका ‘सम्पत्ति शुद्धीकरण’ र ‘सङ्गठित अपराध’ सम्बन्धी मुद्दामा फेला परेको भनिएका थप प्रमाण तथा कागजात पेश गर्न आदेश दिएको छ।

न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासले हिजो लामिछानेको मुद्दा संशोधन गर्नुपर्ने आधारसम्बन्धी प्रमाण पेश गर्न महान्यायाधिवक्ताको कार्यालयलाई आदेश दिएको हो।

महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध अभियोगपत्र दायर भएपछि थप प्रमाण फेला परेकाले मुद्दा संशोधन प्रक्रियामा लैजान सरकारी वकिल कार्यालयलाई निर्देशन दिनुभएको थियो।

महान्यायाधिवक्ता कार्यालयको उक्त निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, सिन्धुलीका युवराज पौडेल र कानुनका विद्यार्थी आयुष बडाललगायतले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

सर्वोच्चको आदेशअनुसार महान्यायाधिवक्ता कार्यालयबाट थप कागज–प्रमाण प्राप्त भएपछि मात्र अन्तरिम आदेशबारे छलफल हुने भनिएको छ।

लामिछानेविरुद्ध काठमाडौं, पर्सा, रुपन्देही र कास्की जिल्ला अदालतमा सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी मुद्दा विचाराधीन रहेका छन्।

Facebook Comments Box