आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह
काठमाडौँ, १२ माघ – निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सञ्चार माध्यमहरूले आधिकारिक स्रोतलाई मात्र आधार मानेर समाचार तथा सूचना प्रवाह गर्न आग्रह गर्नुभएको छ।
सार्वजनिक सेवा प्रसारण नेपालले आयोजना गरेको ‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ आचारसंहिता अभिमुखीकरण’ कार्यक्रममा उहाँले निर्वाचनका क्रममा भ्रामक समाचार फैलिन नदिन सचेत रहन सुझाव दिनुभयो।
नागरिकलाई यतिबेला सत्यतथ्य समाचारको अत्यन्त आवश्यकता रहेको उल्लेख गर्दै उहाँले सञ्चार माध्यमले आचारसंहिताको पालना गर्ने र गराउने दुवै भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो।
“सञ्चार माध्यमले सकेसम्म निर्वाचनसम्बन्धी समाचार लेख्दा आधिकारिक स्रोतलाई मात्रै आधार बनाउन अनुरोध गर्दछु,” उहाँले भन्नुभयो। डिप फेक प्रविधि, कृत्रिम बुद्धिमत्ता (एआई) जस्ता एप प्रयोग गरी सामाजिक सञ्जालमा कसैको छविमा आँच आउने खालका श्रव्यदृश्य सामग्री देखिन थालेकाले त्यसको व्यवस्थापनका लागि निर्वाचन आयोगले मेटा, टिकटोकलगायत सामाजिक सञ्जालसँग सम्झौता गर्न लागेको जानकारी पनि उहाँले दिनुभयो।
कार्यक्रममा आयोगका सचिव कृष्णबहादुर राउतले निर्वाचन आचारसंहिता पालना गराउने तथा त्यसको निगरानी गर्ने दायित्व सञ्चार माध्यमको हुने बताउनुभयो।
उहाँले विशेषगरी नेपाल टेलिभिजन, रेडियो नेपाल, राष्ट्रिय समाचार समिति (रासस) लगायतका सरकारी सञ्चार माध्यमले नागरिकसमक्ष सत्य र आधिकारिक समाचार सम्प्रेषणमा अझ बढी जिम्मेवार हुनुपर्ने धारणा राख्नुभयो।
राससले आन्तरिक रूपमा निर्वाचन आचारसंहिता बनाएकोमा प्रशंसा गर्दै उहाँले अन्य सञ्चार गृहले पनि यस्तो अभ्यास सुरु गर्नुपर्ने बताउनुभयो।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतले आसन्न निर्वाचनका क्रममा नागरिकलाई सही सूचना दिने र निर्वाचन सफल पार्न सघाउन सञ्चार माध्यमले अहम भूमिका खेल्नुपर्ने बताउनुभयो।
सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डा. महेन्द्र विष्टले सञ्चार माध्यमले निर्वाचन आचारसंहितासँगै पत्रकारको आचारसंहिता पनि ध्यानमा राखेर पत्रकारिता गर्न सुझाव दिनुभयो।
उहाँले सञ्चारकर्मीले आफैंबाट आचारसंहिता पालना भएको छ कि छैन भनेर आत्ममूल्यांकन गर्नुपर्ने धारणा राख्नुभयो। कुनै पनि पार्टीका उम्मेदवार वा विचारधाराका विषय सामाजिक सञ्जालमा पोस्ट नगरी निष्पक्ष ढङ्गले पत्रकारिताको धर्म निर्वाह गर्नुपर्ने उहाँले बताउनुभयो।
यसै क्रममा टेलिभिजनले देशभरका आफ्ना समाचारदातालाई भिडियो कलमार्फत निर्वाचन आचारसंहिताबारे अभिमुखीकरण तालिम दिएको जनाएको छ।

