प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता
काठमाडौँ, ८ माघ – चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा प्रेस काउन्सिल नेपालमा १६३ वटा उजुरी दर्ता भएका छन् । काउन्सिलका अनुसार पुस मसान्तसम्म ती उजुरी दर्ता भएका हुन् । दर्ता भएका उजुरीमध्ये पत्रकार आचारसंहिताअनुसारको प्रक्रिया पूरा गरी ७७ वटा खण्डन सम्प्रेषण गरिएको छ ।
त्यस्तै, ५२ वटा उजुरीमा पेस भएको जवाफ उजुरीकर्तालाई जानकारी गराइएको र १४ वटा उजुरीमा क्षमायाचना तथा भूलसुधार गरिएको काउन्सिलका सहप्रवक्ता रामशरण बोहराले जानकारी दिनुभयो । यस अवधिमा पाँचवटा सामग्री स्थगन गरिएका छन् भने १० वटा सञ्चारमाध्यमलाई स्पष्टीकरण सोधिएको छ । यस्तै, पाँचवटा सञ्चारमाध्यमलाई निर्देशन तथा सचेत गराइएको छ ।
एक सञ्चारमाध्यमलाई भने अवज्ञाकारी ठहर गर्दै कालोसूचीमा राखी कारबाही गरिएको छ । काउन्सिलका अनुसार यस अवधिमा ६३२ वटा मिडिया, वेबपोर्टल तथा सामाजिक सञ्जालका ७४४ सामग्री स्वअनुगमन गरिएको छ । तीमध्ये ४४७ वटा मिडिया र १८५ वटा गैरमिडियाका सामग्री रहेका छन् ।
आचारसंहिता उल्लङ्घनको गम्भीरताको आधारमा १३६ वटा मिडिया र २७ वटा गैरमिडियालाई निर्देशन तथा सचेत गराइएको विज्ञप्तिमा उल्लेख छ । सम्पर्कमा नआएका २० वटा गैरमिडियाका सम्बन्धमा अनुसन्धान गरी कारबाहीका लागि सम्बन्धित निकायमा पत्राचार गरिएको छ ।
काउन्सिलले पत्रकार तथा सञ्चारमाध्यमबाट पत्रकार आचारसंहिता पालना भए–नभएको विषयमा नियमित अनुगमन गरिरहेको र निर्वाचन आचारसंहिता लागू भएको सन्दर्भमा त्यसको पालना सुनिश्चित गर्न विशेष अनुगमन प्रक्रिया थालनी गरिएको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, “निर्वाचनको समयमा निर्वाचनलाई प्रभावित गर्ने उद्देश्यले राजनीतिक दल तथा उम्मेदवारका बारेमा आधारहीन, अप्रमाणित, मिथ्या तथा चरित्रहत्या गर्ने सामग्री सम्प्रेषण हुनसक्ने भएकाले यस्ता सामग्रीलाई स्थान नदिन सञ्चारमाध्यम तथा पत्रकार सदैव सजग हुनुपर्छ ।”
काउन्सिलले पत्रकारिताका मूल्य र मान्यताविपरीत गैरपेसागत आचरण गर्ने, तथ्य र प्रमाणबिनै सामग्री सम्प्रेषण गर्ने, सामाजिक सञ्जालको दुरुपयोग गरी अफवाह र भ्रम फैलाउने तथा नियोजित रूपमा गलत वा तोडमरोड गरिएका सामग्री प्रकाशन नगर्न सञ्चारमाध्यम, पत्रकार र सञ्चारकर्मीलाई आग्रह गरेको छ ।

