काँकरभिट्टाबाट छ महिनामा नौ अर्ब ७७ करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात
झापा, ८ माघ – चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म पूर्वी नाका काँकरभिट्टाबाट रु नौ अर्ब ७७ करोडभन्दा बढी मूल्यको पेट्रोलियम पदार्थ आयात भएको छ । मेची भन्सार कार्यालयका अनुसार यस अवधिमा पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ र मट्टितेल गरी कुल रु नौ अर्ब ७७ करोड दुई लाख ३२ हजार बराबरको पेट्रोलियम पदार्थ आयात गरिएको हो ।
मेची भन्सार कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा पेट्रोलियम पदार्थको आयात रु ५१ करोड ५९ लाख ४३ हजार अर्थात् पाँच दशमलव ६० प्रतिशतले वृद्धि भएको छ । आयात बढेसँगै यस शीर्षकबाट प्राप्त राजस्व पनि पाँच दशमलव ७० प्रतिशत अर्थात् रु २५ करोड ४२ लाख ४० हजारले बढेको उहाँले जानकारी दिनुभयो ।
कार्यालयको तथ्याङ्कअनुसार चालु आवको छ महिनामा पेट्रोलियम पदार्थ आयातबाट कुल रु चार अर्ब ७४ करोड ९४ लाख ३६ हजार राजस्व सङ्कलन भएको छ । यस अवधिमा रु चार अर्ब ७२ करोड छ लाख मूल्य बराबरको ५३ हजार १५२ किलोलिटर पेट्रोल आयात भएको छ । त्यस्तै, रु तीन अर्ब २२ करोड ६५ लाख मूल्य पर्ने ३३ हजार ७४४ किलोलिटर डिजेल आयात गरिएको छ ।
यस्तै, छ महिनाको अवधिमा रु एक अर्ब २४ करोड सात लाख मूल्य बराबरको १२ हजार ८११ मेट्रिक टन एलपी ग्यास, रु ३७ करोड ९४ लाख मूल्यको चार हजार ११२ किलोलिटर एटिएफ तथा रु नौ करोड पाँच लाख मूल्य बराबरको ९६४ किलोलिटर मट्टितेल आयात भएको मेची भन्सार कार्यालयले जनाएको छ ।

