सालका रूखमा महामारीः ‘मथ’ पुतलीले पात सखाप पार्दै

दाङ, ८ माघ – दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित नमूना महिला सामुदायिक वनमा सालका रूखहरू सुकेको जस्तो देखिन थालेका छन् । पालुवा पलाउने समयमा नै सालका रूखहरू डढेलो लागेको जस्तो देखिँदा स्थानीयवासी चिन्तित बनेका छन् । करिब २६० हेक्टर क्षेत्रफलमा फैलिएको उक्त सामुदायिक वनका झण्डै १० प्रतिशत सालका रूख पातविहीन अवस्थामा छन् ।

यस्तै समस्या बबई गाउँपालिकाको पुरन्धारा तथा दङ्गीशरण गाउँपालिकाका केही सामुदायिक वनमा पनि देखिएको छ । विगतका वर्षहरूमा यस्तो समस्या नदेखिएको भन्दै यस वर्ष अचानक सालका रूख यसरी सुकेको जस्तो देखिनु चिन्ताको विषय बनेको तुलसीपुर–३ का वडाध्यक्ष वीरबहादुर विकले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिला यस्तो समस्या थिएन । यस वर्ष सालका रूख सुकेजस्ता देखिँदा हामी चिन्तित छौँ । कारण के हो भनेर बुझ्ने प्रयास गरिरहेका छौँ ।”

डिभिजन वन कार्यालय दाङका वरिष्ठ वन अधिकृत भक्तबहादुर चौधरीले यस वर्ष सालका रूखमा ‘महामारी’कै रूपमा समस्या देखिएको बताउनुभयो । “दाङका विभिन्न वन क्षेत्रमा सालका रूख डढेलो लागेको जस्तो देखिएका छन् । यो नियन्त्रण गर्न निकै कठिन समस्या हो,” उहाँले भन्नुभयो ।

वरिष्ठ वन अधिकृत चौधरीका अनुसार ‘मथ’ नामक पुतलीले सालका पात खाइदिँदा यस्तो समस्या उत्पन्न भएको हो । “चैत–वैशाखमा झैँ अहिले नै पात झरेको जस्तो देखिएको छ । पानी परेपछि फेरि पलाउन सक्छ,” उहाँले भन्नुभयो, “तर पटक–पटक यस्तो अवस्था दोहोरिँदा साना रूख सुक्ने र ठूला रूखको वृद्धि पनि घट्ने जोखिम हुन्छ ।”

समस्या महामारीका रूपमा देखिएपछि समाधानका लागि विभागमा पत्राचार गरिएको चौधरीले जानकारी दिनुभयो । “यो जिल्ला स्तरबाट नियन्त्रण गर्न सकिने अवस्था छैन । हामीसँग आवश्यक विज्ञता, क्षमता र साधनस्रोतको अभाव छ,” उहाँले भन्नुभयो, “विभागमा चिट्ठी पठाएका छौँ तर हालसम्म ठोस प्रतिक्रिया आएको छैन ।”

एकवटा ‘मथ’ पुतलीले एकै दिनमा करिब ३०० वटा अण्डा पार्ने र तीबाट तीव्र गतिमा संख्या बढ्ने भएकाले नियन्त्रण कठिन बनेको उहाँको भनाइ छ । ड्रोन वा हेलिकप्टरबाट विषादी छर्कन सकिए पनि त्यसले अन्य पशुपक्षी, वन्यजन्तु तथा मानव बस्तीमा समेत असर गर्ने भएकाले समस्या समाधान जटिल बनेको बताउनुभयो । यसलाई जलवायु परिवर्तनको प्रभावका रूपमा पनि लिन सकिने उहाँको भनाइ छ ।

यसअघि नारायणपुर क्षेत्रका वनमा पनि यस्तै समस्या देखिए पनि समयक्रममा आफैं हराउँदै गएको उदाहरण दिँदै यो समस्या पनि क्रमशः कम हुँदै जाने विश्वास उहाँले व्यक्त गर्नुभयो । जिल्लामा करिब दुई लाख हेक्टर वन क्षेत्र रहेको छ । तीमध्ये एक लाख ९२ हजार ६८२ हेक्टर सघन वन क्षेत्र र आठ हजार ४३ हेक्टर बुट्यान क्षेत्र रहेको डिभिजन वन कार्यालयले जनाएको छ ।

जिल्लामा ३६९ वटा सामुदायिक वन रहेका छन्, जसबाट करिब ८० हजार घरपरिवार लाभान्वित छन् । यस्तै १५३ हेक्टर क्षेत्रफलमा फैलिएका छ वटा धार्मिक वन र ११२ हेक्टर क्षेत्रफलमा फैलिएका २४० वटा निजी वन रहेका छन् । हाल जिल्लाका करिब १५ देखि २० वटा सामुदायिक वनमा सालका रूखमा यस्तो समस्या देखिएको छ ।

Facebook Comments Box