नारायणी नदी आसपासमा ४२ प्रजातिका १२ हजारभन्दा बढी चरा भेटिए
नवलपरासी, ६ माघ – यस वर्ष गरिएको जलपक्षी गणनाका क्रममा नारायणी नदी र आसपासका सिमसार क्षेत्रमा ४२ प्रजातिका १२ हजार ८८७ चरा फेला परेका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना संयोजक डिबी चौधरीका अनुसार गत वर्ष ४१ प्रजातिका चरा भेटिएकामा यस वर्ष एक प्रजाति थपिएको छ भने समग्र सङ्ख्यामा पनि उल्लेखनीय वृद्धि भएको छ ।
उहाँका अनुसार गत वर्षको तुलनामा यस वर्ष चराको सङ्ख्या करिब तीन हजार ३३९ ले बढेको प्रारम्भिक अनुमान गरिएको छ । नारायणी नदी र आसपासका सिमसार क्षेत्रमा विज्ञ समूहले गरेको एकीकृत गणनाअनुसार यस वर्ष विगत केही वर्षको तुलनामा सबैभन्दा धेरै चरा देखिएका हुन् । सन् २०२४ मा ४१ प्रजातिका नौ हजार ५४८ तथा अर्को गणनामा ४१ प्रजातिका १० हजार २५७ चरा अभिलेख गरिएको थियो ।
नेपालमा हालसम्म ९०३ प्रजातिका पक्षी सूचीकृत छन्, जसमध्ये १६२ प्रजातिका चरा जल क्षेत्रमा पाइन्छन् । तीमध्ये यस वर्ष नारायणी नदी क्षेत्रमा ४२ प्रजातिका जलपक्षी भेटिएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) तर्फको चितवन राष्ट्रिय निकुञ्ज, नारायणी नदी र आसपासका सिमसार क्षेत्रमा पाँच समूह बनाएर चरा गणना गरिएको थियो ।
सिघ्रौली–अमलटारी, सिघ्रौली–पिठौली, पिठौली–अमलटारी तथा अमलटारीदेखि त्रिवेणी गण्डक ब्यारेजसम्मका क्षेत्रमा गणना गरिएको हो । संयोजक चौधरीका अनुसार साइबेरियालगायत उत्तरी गोलार्द्धबाट चिसो मौसम छल्न नेपाल आउने पाहुना चरामध्ये यस वर्ष खोया हाँस सबैभन्दा बढी सङ्ख्यामा देखिएका छन् ।

