सत्ता गठबन्धनका चार दलले प्रतिनिधि सभामा दाबी गरेको सिट छोड्न तयार

काठमाडौं, १० भदौ – सत्ता गठबन्धनका चार दलले प्रतिनिधि सभामा दाबी गरेको सिट घटाउने भएका छन्। शुक्रबार बेलुका बसेको कार्यदलको बैठकमा आफ्नो दाबी छोड्न तयार रहेको उनीहरुले बताएका हुन्।

बिहीबार बसेको कार्यदलको बैठकमा कांग्रेसले सय, माओवादी केन्द्रले ६०, नेकपा एकीकृत समाजवादीले ४०, जनता समाजवादी पार्टी (जसपा)ले ३५ र राष्ट्रिय जनमोर्चाले २ सिट दाबी गरेका थिए।

प्रतिनिधि सभा र प्रदेश सभाको सिट बाँडफाँटका लागि बनेको कार्यदलका सदस्यले सो दाबी छोड्न तयार भएका हुन्। ‘कार्यदलमा प्रस्तुत भएका ३० प्रतिशत भन्दा बढी दाबी घटाउन चारै दल सहमत हुनुभएको छ,’ कार्यदलका एक सदस्यले भने, ‘त्यसका लागि पार्टीमा छलफल गर्ने बताउनुभएको छ।’

शुक्रबारको बैठकमा प्रदेश सभाका ३ सय ३० क्षेत्रको पनि बाँडफाँटका विषयमा सल्लाह भएको छ। ‘हाम्रो बैठकमा संघ र प्रदेशको सिट बाँडफाँट सहमतिमै गर्ने समझदारी भएको छ, कुरा सकारात्मक छ,’ ती सदस्यले भने ।

नेताहरुका अनुसार ९ भदौको बैठकमा सिटको दाबी गरेको कांग्रेस आफ्नो दाबीमा लचक हुन तयार रहेको बताएको थियो। यस्तै माओवादीले पनि सहमति गर्ने कुरामा तयार रहेको बताएको थियो।

‘हाम्रो पार्टीभित्र छलफल गर्छौ भन्नुभएको छ, सायद अबको बैठकमा उहाँहरुले अन्तिम दाबी प्रस्तुत गर्नुहुन्छ होला, संघमा सहमति जुटेपछि प्रदेशको सिट बाँडफाँट गर्छौँ,’ ती सदस्यले थपे।

अर्का एक सदस्यका अनुसार अझै गृहकार्य गर्नुपर्ने निष्कर्षमा कार्यदल पुगेको छ। एक दुई दिनभित्रमा सुझाव संकलन गरी सिट बाँडफाँटबारे शीर्ष नेतालाई प्रतिवेदन दिने तयारी छ।

ति नेताले भने, ‘प्रतिनिधि सभा र प्रदेशको पनि सुझाव संकलन गरेर एक दुई दिनभित्र शीर्ष नेतालाई बुझाउँछौँ। अहिले हामी छलफलमै छौँ।’

Facebook Comments Box