आज देशभर विविध कार्यक्रम गरी हर्षोल्लासपूर्वक मनाइँदै सोनाम ल्होसार

काठमाडौँ, ५ माघ – तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज देशभर विविध कार्यक्रम गरी हर्षोल्लासपूर्वक मनाउँदै छन्। मञ्जुश्री पात्रोअनुसार आजदेखि २८६२औँ वर्ष प्रारम्भ भएको छ। आज सर्प वर्ष समाप्त भई घोडा वर्ष प्रवेश गरेको हो। सोनाम ल्होसारलाई मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ पशुपन्छीका वर्गमा विभाजन गरिएको छ।

ल्होसारका सबै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले यो पर्व प्रकृतिपूजक संस्कृतिसँग जोडिएको रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो। तामाङ समुदायको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रूपमा मनाइन्छ।

पर्वका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध क्षेत्रमा विविध कार्यक्रम आयोजना गरेको जनाएको छ। यसैगरी नेपाल तामाङ घेदुङले टुँडिखेलमा शनिबारदेखि तीन दिनसम्म ल्होसार विशेष कार्यक्रम सुरु गरेको छ। राजधानीको स्वयम्भू क्षेत्रमा पनि विविध कार्यक्रम गरी सोनाम ल्होसार मनाइने जनाइएको छ।

करिब चार हजार ७०० वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया र सिङ्गापुरलगायत देशहरूमा पनि मनाइन्छ। नेपालमा तामाङ समुदायसँगै ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले पनि यो पर्व मनाउने गर्दछन्।

यस अवसरमा आइतबारदेखि राजधानीको टुँडिखेलमा ल्होसार महोत्सव आयोजना गरिएको छ। महोत्सवअन्तर्गत तामाङ समुदायका ताम्बा, बोन्बो र लामाहरूको विशेष सांस्कृतिक झाँकी, परम्परागत गीत तथा नृत्य प्रस्तुत गरिनुका साथै राष्ट्रिय तथा अन्तरराष्ट्रिय रूपमा ख्यातिप्राप्त कलाकारहरूको प्रस्तुति रहने मूल समारोह समितिले जनाएको छ।

Facebook Comments Box