मेची भन्सार: छ महिनामा रु सात अर्ब १९ करोडको अलैँची निर्यात

झापा, ५ माघ – पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक अवधिमा अलैँचीसहित विभिन्न वस्तुको निर्यात उत्साहजनक रूपमा वृद्धि भएको छ। साउनदेखि पुस मसान्तसम्मको छ महिनामा रु सात अर्ब १९ करोड ९५ लाख चार हजार मूल्य बराबरको ३४ लाख ६१ हजार ३५० केजी अलैँची निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ।

गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा चालु आवमा अलैँचीको निर्यात ५८ प्रतिशतले वृद्धि भएको भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाइँले जानकारी दिनुभयो। गत आवको साउनदेखि पुससम्ममा रु चार अर्ब ५५ करोड ७० लाख ६९ हजार मूल्य बराबरको अलैँची निर्यात भएको थियो।

कुकुर र बिरालोको खानाको रूपमा तेस्रो मुलुक निर्यात हुँदै आएको छुर्पीको निर्यात पनि उल्लेखनीय रूपमा बढेको छ। चालु आवको अर्धवार्षिक अवधिमा छुर्पीको निर्यात गत आवको सोही अवधिको तुलनामा ६६ दशमलव २ प्रतिशतले वृद्धि भएको छ। यस अवधिमा रु ७६ करोड पाँच लाख तीन हजार मूल्य बराबरको चार लाख ३२ हजार ४०५ केजी छुर्पी निर्यात भएको छ। गत आवको सोही अवधिमा रु ४५ करोड ७६ लाख ३४ हजार मूल्य बराबरको दुई लाख ६६ हजार २४३ केजी छुर्पी निर्यात भएको थियो।

यस अवधिमा भेनियर सिट र मुसुरो दालको निर्यातसमेत उल्लेखनीय रूपमा बढेको छ। चालु आवको छ महिनामा रु ५३ करोड चार लाख ९६ हजार मूल्य बराबरको भेनियर सिट र रु नौ करोड १२ लाख ८७ हजार मूल्य बराबरको मुसुरो दाल निर्यात भएको छ। गत आवको तुलनामा मुसुरो दालको निर्यात ४८१ प्रतिशत र भेनियर सिटको निर्यात १०९ प्रतिशतले वृद्धि भएको भन्सार कार्यालयले जनाएको छ।

यद्यपि, चिया र प्लाइउडको निर्यातमा भने गिरावट आएको छ। अर्धवार्षिक अवधिमा चियाको निर्यात २६ दशमलव ४ प्रतिशत र प्लाइउडको निर्यात ४४ दशमलव ५ प्रतिशतले घटेको छ। चालु आवको छ महिनामा रु दुई अर्ब १७ करोड ८७ लाख पाँच हजार मूल्य बराबरको चिया र रु एक अर्ब नौ करोड ७४ लाख तीन हजार मूल्य बराबरको प्लाइउड निर्यात भएको छ।

गत आवको सोही अवधिमा चियाको निर्यात रु दुई अर्ब ९५ करोड ९० लाख ३७ हजार र प्लाइउडको रु एक अर्ब ९७ करोड ७६ लाख ४६ हजार मूल्य बराबरको रहेको थियो। यसैगरी, चालु आव २०८२/८३ को पुससम्मको अवधिमा रु ३३ करोड ८९ लाख तीन हजार मूल्य बराबरको अम्लिसो, रु ५० करोड १७ लाख ३२ हजार मूल्य बराबरको अदुवा र सुठो, रु ११ करोड ३१ लाख ९१ हजार मूल्य बराबरको काउली, बन्दाकोभी र ब्रोकाउली तथा रु पाँच करोड ७४ लाख २७ हजार मूल्य बराबरको जडीबुटी निर्यात भएको सूचना अधिकारी हुमागाइँले जानकारी दिनुभयो।

Facebook Comments Box