कालीकोटमा जीप दुर्घटना: तीन जनाको मृत्यु
कालीकोट, ३ माघ – कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा शुक्रबार बेलुकी जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।सेरी–पान्तडी सडकखण्डअन्तर्गत सल्लेरीमा उकालो चढ्ने क्रममा भे १ ज २८९८ नम्बरको जीप ब्याक भएर भीरबाट खस्दा घटनास्थलमै तीन जनाको ज्यान गएको हो।
कालीकोटका प्रहरी प्रमुख हिमबहादुर खत्रीका अनुसार मृत्यु हुनेमा दैलेखको आठबिस नगरपालिका निवासी २८ वर्षीय शङ्कर कठायत, अछामका टेकेन्द्र शाही र कालीकोट शुभकालिका–२ का सहचालक नवराज शाही रहेका छन्। मृतक तीनै जना सेरी–पान्तडी सडक निर्माण कार्यमा संलग्न थिए।
भीरबाट तीनै जनाको शव निकालेर सडकमा ल्याइएको छ भने परीक्षणका लागि आफन्त बोलाएर सदरमुकाम मान्म लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाग्रस्त जीप सडकबाट करिब ५०० मिटर तल तिला नदीको किनारमा टुक्राटुक्रा अवस्थामा फेला परेको छ।
जीप चालक प्रहरीको सम्पर्कमा आएको भए पनि हालसम्म सोधपुछ हुन बाँकी रहेको जनाइएको छ। दुर्घटनाको जानकारी पाएलगत्तै सदरमुकाम मान्मबाट प्रमुख जिल्ला अधिकारी गोर्कणराज सुयल, प्रहरी प्रमुख खत्रीसहित जनपद र सशस्त्र प्रहरीको टोली घटनास्थल पुगेको थियो।

