कांग्रेस आधिकारिकतासम्बन्धी आयोगको निर्णय देउवा पक्षद्वारा अस्वीकार
काठमाडौँ, २ माघ – निर्वाचन आयोगले गगन थापाको नेतृत्वमा रहेको नेपाली कांग्रेसलाई आधिकारिकता दिएपछि देउवा पक्षले उक्त निर्णय अस्वीकार गरेको छ।
देउवा पक्षका नेता पूर्णबहादुर खड्काले निर्वाचन आयोगले षड्यन्त्रपूर्वक निर्णय गरेको आरोप लगाउँदै कानुनी र राजनीतिक दुवै लडाइँ लड्ने घोषणा गर्नुभएको छ।
पत्रकारहरूसँग कुरा गर्दै खड्काले भन्नुभयो, “हामी वैधानिक कानुनी लडाइँ लड्छौँ। यो निर्णय पहिलेदेखि नै सेटिङ गरिएको थियो भन्ने कुरा उठ्दै आएका छन्। एक पक्षको दाबीका आधारमा गरिएको निर्णय प्रक्रियागत रूपमा त्रुटिपूर्ण छ। षड्यन्त्रपूर्वक गरिएको यो निर्णय खारेज गराउनेछौँ।”
उहाँले निर्वाचन आयोगले आधिकारिक रूपमा निर्वाचित समितिलाई एकपटक पनि नसुनी निर्णय गरेकोप्रति असन्तुष्टि व्यक्त गर्नुभयो। निर्वाचन आयोगले शुक्रबार साँझ विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई वैधानिकता दिएको थियो।

