नेतृत्व रुपान्तरणको विवादले कांग्रेस विभाजित
काठमाडौँ, ३० पुस – नेतृत्व परिवर्तन र पार्टी रुपान्तरणको माग सम्बोधन हुन नसकेपछि नेपाली कांग्रेस विभाजनको अवस्थामा पुगेको छ । कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई पाँच वर्षका लागि पार्टी सदस्यताबाट निष्कासन गरेपछि विभाजन औपचारिक रूपमा सतहमा आएको हो ।
यता, विशेष महाधिवेशन पक्षधरहरूले गगन थापालाई सभापतिमा चयन गर्ने प्रक्रिया अघि बढाएका छन् । देउवाको नेतृत्वमा अब पार्टीलाई चुनावमा लैजान नसकिने दाबी गर्दै विशेष महाधिवेशन पक्षधर नेताहरूले लामो समयदेखि नेतृत्व परिवर्तनको माग गर्दै आएका थिए । तर सभापति देउवा पद छोड्न तयार नभएपछि विवाद चर्किँदै विभाजनको तहमा पुगेको हो ।
कांग्रेसभित्र रुपान्तरण चाहने र यथास्थितिवादी धारबीचको संघर्ष अन्ततः पार्टी विभाजनमा परिणत भएको विश्लेषण गरिएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिले थापासहितका नेताहरूलाई पार्टी अनुशासन उल्लङ्घन गरेको आरोपमा कारबाही गरेपछि प्रतिक्रिया दिँदै गगन थापाले कांग्रेस कसैको निजी कम्पनी नभएको टिप्पणी गर्नुभयो । उहाँले कांग्रेस आफूले इतिहास बनाएको, आन्दोलनको नेतृत्व गरेको पार्टी भएको बताउनुभयो ।
संस्थापन पक्षले पार्टी चुनावी प्रक्रियामा जाने तयारी भइरहेका बेला विशेष महाधिवेशन सम्भव नभएको अडान लिँदै आएको थियो । केन्द्रीय कार्यसमितिले नियमित महाधिवेशन आगामी वैशाखको अन्तिम साता गर्ने मिति समेत तय गरिसकेको थियो । तर पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विधानअनुसार विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाएका थिए ।
नियमित महाधिवेशनको मिति तय भइसकेपछि विशेष महाधिवेशन हुन नसक्ने संस्थापन पक्षको अडानको विपक्षमा विशेष महाधिवेशन पक्षधरहरूले विधानमा स्पष्ट व्यवस्था भएकाले यसलाई बेवास्ता गर्न नहुने तर्क गर्दै आएका थिए । पुस २८ भित्र विशेष महाधिवेशन आह्वान गर्न माग गरिएको निवेदनको समयसीमा सकिन लागेपछि जसरी पनि महाधिवेशन गर्ने अडान लिइएको थियो ।
महाधिवेशनको प्रक्रिया अघि बढेसँगै पार्टी विभाजन रोक्नका लागि पटक–पटक वार्ताका प्रयास भए । दुवै पक्षले वार्ता टोली गठन गरी सन्देश आदान–प्रदान गरे पनि आ–आफ्नो अडानबाट पछि नहटेपछि नेपाली कांग्रेस विभाजनको अवस्थामा पुगेको हो ।

