कांग्रेस विशेष महाधिवेशनबाट गुरु घिमिरे र प्रदीप पौडेल महामन्त्री चयन
काठमाडौँ, ३० पुस – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गुरु घिमिरे र प्रदीप पौडेल महामन्त्रीमा चयन भएका छन् । काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनले दुवै जनालाई महामन्त्रीको जिम्मेवारी दिएको हो ।
नेता विश्वप्रकाश शर्माका अनुसार विशेष महाधिवेशनबाट युवा नेताद्वय घिमिरे र पौडेल महामन्त्री चयन भएका हुन् । अन्य पदाधिकारी टुंग्याउने विषयमा सभापति गगन थापा र पदाधिकारीका उम्मेदवारबीच छलफल जारी रहेको जनाइएको छ ।
निर्वाचन समितिले बुधबार बिहान उम्मेदवारी दर्ताको कार्यक्रम तय गरेको थियो । महामन्त्री पदका लागि घिमिरे र पौडेलले मात्र उम्मेदवारी दिएका थिए । कांग्रेस विधानअनुसार पार्टीमा दुई जना महामन्त्री रहने व्यवस्था छ ।
यसअघि कांग्रेसको १४औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवा समूहबाट महामन्त्रीका उम्मेदवार बनेका प्रदीप पौडेल गगन थापा र विश्वप्रकाश शर्मासँग पराजित भएका थिए ।

