कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही

ललितपुर, ३० पुस – नेपाली कांग्रेसले पार्टी अनुशासन उल्लङ्घन गरेको आरोपमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फर्मूल्ला मन्सुरलाई कारबाही गरेको छ ।

पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा आज सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले पार्टी विधान र हितविपरीत गतिविधिमा संलग्न रहेको ठहर गर्दै उनीहरूलाई पार्टी सदस्यबाट पाँच वर्षका लागि निष्कासन गर्ने निर्णय गरेको हो । उक्त जानकारी केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमुख मीन विश्वकर्माले दिनुभयो ।

महामन्त्री थापा र शर्मा तथा सहमहामन्त्री मन्सुरले कांग्रेसको विशेष महाधिवेशन पक्षद्वारा आह्वान गरिएको विशेष महाधिवेशनको अगुवाइ गर्नुका साथै नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाउने कार्यमा संलग्न रहेको आरोप लगाइएको छ ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले केन्द्रीय कार्यसम्पादन समितिबाट निर्णय भई प्रस्तुत गरिएको १५ औँ महाधिवेशनको कार्यतालिकासहितका सबै प्रस्ताव केन्द्रीय कार्यसमितिबाट पारित गरिएको जानकारी दिनुभयो ।

Facebook Comments Box