कांग्रेस विशेष महाधिवेशनः विभिन्न प्रतिवेदनमाथि छलफल जारी

काठमाडौँ, २९ पुस – नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको विशेष महाधिवेशनको बन्दसत्र लम्बिएको छ। विभिन्न प्रतिवेदनमाथि छलफल जारी रहेकाले बन्दसत्र आजसम्मका लागि निरन्तरता दिइएको हो।

पुस २७ र २८ गतेका लागि तय गरिएको विशेष महाधिवेशनको बन्दसत्रमा महामन्त्रीद्वयले प्रस्तुत गर्नुभएको प्रतिवेदनमाथि व्यापक छलफल भइरहेको विशेष महाधिवेशन व्यवस्थापन सचिवालयले जनाएको छ। सचिवालयका संयोजक मनोजमणि आचार्यका अनुसार बन्दसत्र आज बिहान ९ बजेदेखि पुनः सुरु भएको छ। उहाँले महाधिवेशन प्रतिनिधिको नाम दर्ता प्रक्रिया पनि सँगसँगै जारी रहेको जानकारी दिनुभयो।

बन्दसत्रमा प्रस्तुत प्रतिवेदनमाथि नीतिगत छलफल तथा आवश्यक निर्णयपछि निर्वाचन प्रक्रियासमेत अघि बढाइने जनाइएको छ। महाधिवेशन सचिवालयका अनुसार सोमबार साँझसम्म विशेष महाधिवेशनका लागि नाम दर्ता गराउने प्रतिनिधिको सङ्ख्या कुल प्रतिनिधिमध्ये ६३ प्रतिशत पुगेको छ।

Facebook Comments Box