अन्नपूर्णको भुवाने देउरालीमा पाखो सम्याएर खेलमैदान निर्माण
म्याग्दी, २९ पुस – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारस्थित भुवाने देउरालीमा पाखो सम्याएर खेलमैदान निर्माण गरिएको छ। लामो समयदेखि उपभोगविहीन रहेको सार्वजनिक भिरालो पाखालाई सम्याएर स्थानीय युवाको पहलमा खेलमैदान तयार पारिएको हो।
गण्डकी प्रदेश सरकार र जर्मन गैरसरकारी संस्था ‘हिमालय फ्रेन्ड्स इभी’को सहयोगमा भुवानी युवा परिवारले खेलमैदान निर्माण गरेको हो। खेलमैदान निर्माणका लागि हिमालय फ्रेन्ड्स इभीले चालु वर्ष रु १० लाख ५२ हजार २५० आर्थिक सहयोग गरेको छ भने गण्डकी प्रदेश सरकारले गत वर्ष रु पाँच लाख र क्लबले रु एक लाख रुपैयाँ खर्च गरेको निर्माण समितिले जनाएको छ।
निर्माण समितिका अध्यक्ष श्याम खड्काका अनुसार डोजर प्रयोग गरी बाँझो सार्वजनिक पाखो सम्याएर ११० मिटर लम्बाइ र ५० मिटर चौडाइको खेलमैदान निर्माण गरिएको हो। सो खेलमैदानमा फुटबल, बास्केटबल, क्रिकेट तथा एथलेटिक्सलगायतका खेल सञ्चालन गर्न सकिने व्यवस्था मिलाइएको छ। खेलमैदानमा आवश्यक पर्खाल, प्यारापिट तथा घेराबार निर्माणका लागि वडा, गाउँपालिका, प्रदेश र सङ्घीय सरकारसँग थप सहयोगका लागि पहल भइरहेको निर्माण समितिले जनाएको छ।
यसअघि खेलमैदानको अभावमा विद्यालय परिसरमै खेल अभ्यास तथा प्रतियोगिता सञ्चालन गर्नुपर्ने अवस्था थियो। विद्यालयमा हुने खेलकुद गतिविधिका कारण पठनपाठन प्रभावित भएपछि छुट्टै स्थानमा खेलमैदान निर्माण गरिएको निर्माण समितिका सचिव जितबहादुर बरुवालले जानकारी दिनुभयो।

