बाढीको जोखिम बढेपछि जलविद्युत् आयोजना सतर्क रहन इप्पानको आग्रह
काठमाडौं, ३ साउन – आगामी तीन दिन (साउन ३, ४ र ५) का लागि अत्यधिक वर्षाको पूर्वानुमानसँगै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले देशभरका जलविद्युत् आयोजना उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।
जल तथा मौसम विज्ञान विभागसँगको बाढी पूर्वसूचना आदानप्रदानसम्बन्धी समझदारीअनुसार इप्पानले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “साउन ३ गते साँझदेखि ४ गते बिहानसम्म पूर्वी नेपालमा भारी वर्षा हुने अनुमान छ।”
विभागका अनुसार कोशी, तामोर, अरुण, तामाकोशी, दूधकोशी र कन्काई नदीमा बाढीको उच्च सम्भावना छ, जसले सतर्कता तह पार गर्नसक्छ।
पूर्वी नेपालमा सक्रिय मौसमी प्रणाली सर्ने क्रममा साउन ४ गते बागमती नदीमा बाढी आई काठमाडौं उपत्यका र तल्लो क्षेत्र प्रभावित हुन सक्नेछ। साउन ५ गतेसम्म महाकाली नदी र आसपासका तटीय क्षेत्रमा पनि उच्च सतर्कता आवश्यक रहेको विभागले जनाएको छ।
इप्पानका अनुसार बागलुङ, म्याग्दी, पर्वत, स्याङ्जा, पाल्पा, नवलपरासी र रूपन्देहीलगायत जिल्लामा समेत वर्षाले असर पुर्याउनेछ। पश्चिमका राप्ती, बबई र महाकाली जलाधार क्षेत्रमा मध्यमदेखि उच्च प्रभाव पर्ने सम्भावना छ।
इप्पानले निर्माणाधीन तथा सञ्चालनमा रहेका जलविद्युत् आयोजना, तिनका कर्मचारी तथा संरचनाहरूको सुरक्षाका लागि तत्काल पूर्वतयारी अपनाउन आग्रह गरेको छ।
गत असार २४ गतेको भोटेकोशी बाढीले रसुवा र नुवाकोटका आधा दर्जनभन्दा बढी जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्याएको तथा विगतमा पनि यस्ता घटनाले जनधनको क्षति गराएको स्मरण गराउँदै इप्पानले यस्ता दुर्घटना नदोहोरिन चेतावनी दिएको छ।

