काठमाडौँमा दुईदिने थारु राष्ट्रिय माघी महोत्सव आयोजना हुने
काठमाडौँ, २८ पुस – थारु समुदायको महान पर्व माघीलाई लक्षित गर्दै काठमाडौँमा दुईदिने ‘थारु राष्ट्रिय माघी महोत्सव’ आयोजना हुने भएको छ ।
पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका थरुहट तराई क्षेत्रमा बसोबास गर्ने थारु समुदायले माघीलाई माघ/माघी/तिला सङ्क्रान्ति/खिँचरा/खिँचरी/खिँचडीका नामले हर्षोल्लासका साथ मनाउँदै आएका छन् ।
थारु कल्याणकारिणी सभा (थाकस) केन्द्रीय समितिको संयोजन तथा ३० वटा थारु सङ्घसंस्थाको संयुक्त आयोजनामा यही पुस ३० र माघ १ गते काठमाडौँको टुँडीखेलमा महोत्सव आयोजना गरिनेछ ।
महोत्सवबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा मूल आयोजक समितिका संयोजक प्रेमीलाल चौधरीले महोत्सवले थारु कला, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्नुका साथै आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्दै राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
उहाँका अनुसार थारु समुदायमा माघी पर्वलाई नयाँ वर्ष, स्वतन्त्रताको प्रतीक, गाउँको नेतृत्व चयन, खोजनी–बुझनी (समीक्षा) तथा सामाजिक, सांस्कृतिक र धार्मिक मूल्यसँग जोडेर मनाइन्छ ।
माघी पर्वको तयारीस्वरूप थारु समुदायले माघी आउनु अगावै दुनाटपरी बनाउने, खानपानको जोहो गर्ने परम्परा रहेको छ । पुस मसान्तमा ‘जिता मार्ने’ परम्परा अनुसार सुँगुर/बङ्गुर काट्ने गरिन्छ भने सोही रात आगोको धुनी बाल्दै डफ र मादलको तालमा धुमरु गाउँदै जाग्राम बस्ने चलन छ । माघ १ गते बिहान नजिकका खोला, नदी वा तालमा स्नान गरिने परम्परालाई ‘माघ लहान’ भनिन्छ ।
स्नानपछि पूजा–भाकल गर्दा सन्तान सुख र मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । ढुङ्गाको महादेव स्थापना गरी पूजा गर्ने, अग्रजबाट आशिर्वादसहित सेतो टीका लगाउने र घर फर्किएपछि ‘निसराउ काढ्ने’ तथा आफन्तजनसँग ‘स्यावा ढोग’ लिँदै माघीका परिकार खाने सांस्कृतिक अभ्यास रहँदै आएको छ ।
थारु कल्याणकारिणी सभाको अगुवाइमा विसं २०५९ देखि काठमाडौँमा माघी महोत्सव मनाउन थालिएको हो । ‘थारु कला संस्कृति हाम्रो पहिचान, संरक्षण र संवर्द्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आयोजना हुने यस वर्षको महोत्सवमा थारु सांस्कृतिक झाँकीसहित र्याली,
उद्घाटन समारोह, विविध सांस्कृतिक प्रस्तुति, थारु परिकारको प्रदर्शनी तथा बिक्री, हस्तकला र पुस्तक प्रदर्शनी, मोटरसाइकल र्याली, ‘जिता मार्ने’ कार्यक्रम तथा विभिन्न क्षेत्रमा योगदान पुर्याएका विशिष्ट व्यक्तित्वको सम्मान समावेश गरिएको छ ।
आयोजकका अनुसार महोत्सवमा करिब १०० वटा स्टल रहनेछन् । सहभागीले ढिक्री, घोङ्गी, अन्डिक भात, खिँचरी, तिलको लड्डु, अन्डिको जाँडको झोल, खँरिया, सुँगुरको मासु, गङ्गटो, सिँधरा, आलुसिन्की, बयरको चटनी, बरिया, तेलपौर रोटी लगायत परम्परागत थारु खानाका स्वाद लिन सक्नेछन् ।
राष्ट्रिय जनगणना २०७८ अनुसार थारु समुदाय नेपालका चौथो ठूलो जातीय समूहका रूपमा रहेको छ । कुल जनसङ्ख्याको ६.२ प्रतिशत हिस्सा ओगट्ने थारु जातिको जनसङ्ख्या १८ लाख सात हजार १२४ रहेको छ । थारु समुदायले भने वास्तविक सङ्ख्या यसभन्दा बढी रहेको अनुमान गर्दै आएका छन् ।

