ऐतिहासिक गढी र एकीकरणको स्मरण गर्दै निशान पदयात्रा
धरान (सुनसरी), २८ पुस – ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस–२०८२ को अवसरमा धरानस्थित विजयपुरगढीबाट धनकुटाको साँगुरीगढीसम्म ऐतिहासिक गढी र एकीकरणको स्मरण गर्दै नेपाली सेनाले आइतबार पदयात्रा सुरु गरेको छ । ‘निशान पदयात्रा’ नाम दिइएको यस यात्राले पूर्वी नेपालको एकीकरण अभियान, ऐतिहासिक गढी र किल्लाको रणनीतिक महत्व उजागर गर्ने उद्देश्य लिएको नेपाली सेनाले जनाएको छ ।
धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्र बिक्रम बेघाले ऐतिहासिक गढीको सम्बन्ध र भूमिकालाई जोड्दै आयोजना गरिएको कार्यक्रम महत्वपूर्ण रहेको बताउनुभयो । “नेपाली सेनाले आयोजना गर्दै आएको यस कार्यक्रममा यस वर्ष धरान उपमहानगरपालिकाले पनि सहकार्य गर्न पाउँदा हामी खुसी छौँ,” उहाँले भन्नुभयो, “हाम्रा अग्रजहरूले कहाँ, कसरी लडे र किल्लाहरूको भूमिका के थियो भन्ने कुरा स्मरण गर्ने अवसर यस कार्यक्रमले दिएको छ ।”
विजयपुरगढीको ऐतिहासिक पृष्ठभूमि
धरानस्थित विजयपुरगढी पूर्वी नेपालको रणनीतिक तथा ऐतिहासिक दृष्टिले महत्वपूर्ण गढी मानिन्छ । गोरखाका राजा पृथ्वीनारायण शाहले एकीकरण अभियानका क्रममा विभिन्न स्थानमा गढी, किल्ला र पदमार्ग प्रयोग गरेका थिए । कोशी प्रदेशका गढीहरू तत्कालीन रणनीतिक केन्द्रका रूपमा प्रयोग भएको इतिहासमा उल्लेख छ । पूर्वी क्षेत्रमा हतुवागढी (भोजपुर), साँगुरीगढी (धनकुटा), विजयपुरगढी (सुनसरी), हेदङ्गनागढी (संखुवासभा), चौदण्डिगढी (उदयपुर), चन्द्रगढी (झापा) र गढीथुम्का (इलाम) प्रमुख ऐतिहासिक गढी मानिन्छन् ।
विजयपुरगढी क्षेत्र विसं १७२७ मा तत्कालीन मोरङ राज्यको राजधानी विजयपुरका रूपमा स्वतन्त्र थियो । त्यसअघि यो मकवानपुरको सेन राज्यको अधीनमा रहेको थियो । यहाँका पहिलो राजा इन्द्रसेन थिए । विजयपुर त्यतिबेला पूर्वी क्षेत्रको प्रशासन, व्यापार र सैनिक शक्ति केन्द्रका रूपमा परिचित थियो ।
नेपाल एकीकरण अभियानका क्रममा पृथ्वीनारायण शाहले किरात राज्यविरुद्ध सरदार रामकृष्ण कुँवरलाई खटाएका थिए । सन् १७७२ मा रामकृष्ण कुँवरले दूधकोशी नदी पार गरी किरात राजा कर्ण सेनमाथि विजय हासिल गरेपछि विजयपुर क्षेत्र नेपालमा समाहित भएको इतिहासमा उल्लेख छ ।
संरक्षण र पर्यटन प्रवर्द्धनमा जोड
विजयपुरगढी–साँगुरीगढी पदयात्रा नेपाली सेनाले प्रत्येक वर्ष आयोजना गर्दै आएको छ । साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दालीका अनुसार ऐतिहासिक स्थलको संरक्षण, पहिचान र प्रवर्द्धन गर्ने उद्देश्यले यस कार्यक्रमलाई निरन्तरता दिइँदै आएको छ ।
“यस वर्ष धरान उपमहानगरपालिका–१४ मा रहेको विजयपुरगढी र साँगुरीगढीको ऐतिहासिक सम्बन्धलाई जोडेर कार्यक्रम आयोजना गरिएको हो,” उहाँले भन्नुभयो । गत वर्षसम्म ‘साँगुरीगढी रन’ का रूपमा सीमित कार्यक्रम यस वर्ष विजयपुरगढीदेखि साँगुरीगढीसम्मको पूर्ण पदयात्रा तथा दौडका रूपमा विस्तार गरिएको हो ।
दौड प्रतियोगिता पनि आयोजना
पदयात्राका अवसरमा विजयपुरगढी–साँगुरीगढी दौड प्रतियोगिता पनि आयोजना गरिएको थियो । प्रतियोगितामा पाँच किलोमिटर दौड (महिला र पुरुष) तथा १० किलोमिटर दौड (महिला÷पुरुष) समावेश गरिएको थियो । १० किलोमिटर खुला दौडमा पुरुष २३६ जना र महिला ४० जना सहभागी भएका थिए भने पाँच किलोमिटर दौडमा छात्र ८० जना र छात्रा ३८ जनाको सहभागिता रहेको थियो ।
१० किलोमिटर दौडमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु २५ हजार, रु १५ हजार र रु १० हजार नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । पाँच किलोमिटर दौडमा पनि प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु १२ हजार, रु आठ हजार र रु पाँच हजार नगद पुरस्कार प्रदान गरिएको नेपाली सेनाले जनाएको छ ।
हरेक वर्ष सञ्चालन हुँदै आएको यस कार्यक्रममा नेपाली सेना, पूर्वी पृतना हेडक्वार्टर इटहरी, श्री नं २ वाहिनी अड्डा, श्री भीमदल गण, श्री भगवतीदल गण, धरान उपमहानगरपालिका, धनकुटा नगरपालिका, पाख्रीबास नगरपालिका र साँगुरीगढी गाउँपालिकाको संयुक्त आयोजना रहेको छ । निशान पदयात्रा आगामी पुस ३० गते धनकुटाको पाख्रीबास पुगेर समापन हुने नेपाली सेनाले जनाएको छ ।

