कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण
बेलायत, २८ पुस – “शरीरको कुनै अङ्गमा कमी हुँदैमा जीवन निरर्थक हुँदैन,” कृत्रिम खुट्टाको सहायतामा अन्टार्टिकाको माउन्ट भिन्सन आरोहण गरेर फर्किनुभएका हरि बुढामगरले भन्नुभयो, “म फरक क्षमता भएका मानिसलाई आफ्नो क्षमता चिनेर हरेक दिन सपनाको सगरमाथा चढ्न प्रेरित गर्न चाहन्छु । मेहनत गरे सफलता सम्भव हुन्छ भन्ने उदाहरण म आफैँ हुँ ।”
यही पुस २२ गते करिब माइनस २५ डिग्री सेल्सियस चिसोमा समुद्री सतहदेखि ४ हजार ८९२ मिटर अग्लो माउन्ट भिन्सनको सफल आरोहणसँगै पूर्व गोर्खा सैनिकसमेत रहनुभएका बुढामगरले विश्वका सातै महादेशका अग्ला चुचुरोको आरोहण पूरा गर्नुभएको छ । ४६ वर्षअघि रोल्पाको दुर्गम गाउँ मिरुलमा जन्मिनुभएका हरि आज विश्वभर साहस, दृढता र प्रेरणाको प्रतीक बन्नुभएको छ ।
अत्यन्त कठिन यात्रा
रासससँग आरोहण अनुभव साट्दै उहाँले भन्नुभयो, “यो उपलब्धि प्राप्त गर्नु अत्यन्त कठिन थियो । तीव्र हावा र कठ्याङ्ग्रिदो चिसोले औँला जमिरहेका थिए । अनुहारमा चिसोको जलन हुन्थ्यो । घरीघरी आफैँमाथि शंका लाग्थ्यो । भगवानमा विश्वास नगर्ने म समेत सफल होऔँ भनेर मनमनै प्रार्थना गरिरहेको थिएँ ।”
उहाँले तीव्र हावा र चिसोले आफूलाई रोक्न नसक्ने आत्मविश्वासकै कारण चुनौती पार गर्न सफल भएको बताउनुभयो । युद्धमै मृत्यु जितेर पुनर्जीवन पाएको अनुभवले जीवनका हरेक चुनौती सामना गर्न आत्मविश्वास अपरिहार्य हुने सन्देश दिएको उहाँको भनाइ छ ।
“यो अनुभूति बयान गर्न शब्द छैन,” उहाँले भन्नुभयो, “दुवै खुट्टाको घुँडामुनि भाग गुमाएर पनि सातै महादेशका उच्च शिखर चढ्नु असम्भवजस्तै थियो, तर हामीले सम्भव बनायौँ । यो कामले नेपालको शीर केही भए पनि उँचो बनाएको छ भन्ने विश्वास छ ।”
सातै महादेशका शिखर
बुढामगरले यसअघि
-
१३ अगस्ट २०१९ मा फ्रान्सको मोन्ट ब्ल्याङ्क (४,८०९ मिटर),
-
८ जनवरी २०२० मा अफ्रिकाको माउन्ट किलिमन्जारो (५,८९५ मिटर),
-
१९ मे २०२३ मा सगरमाथा (८,८४८.८६ मिटर),
-
२८ जुन २०२४ मा उत्तर अमेरिकाको डेनाली (६,१९० मिटर),
-
२२ फेब्रुअरी २०२५ मा दक्षिण अमेरिकाको एकोनकागुआ (६,९६१ मिटर),
-
न्यु गिनीको पुन्चाकजयु (४,८८४ मिटर)
र हालै अन्टार्टिकाको माउन्ट भिन्सनको सफल आरोहण गर्नुभएको हो ।
यससँगै उहाँले दुवै खुट्टा गुमाएर पनि सातै महादेशका अग्ला शिखर आरोहण गर्ने विश्वकै दुर्लभ कीर्तिमान कायम गर्नुभएको छ । सेभेन समिटमा समावेश रूसको माउन्ट एल्ब्रस हाल पहुँचयोग्य नभएकाले वैकल्पिक रूपमा मोन्ट ब्ल्याङ्क आरोहण गरिएको र यसलाई गिनिज वल्र्ड रेकर्ड्सले मान्यता दिएको जनाइएको छ ।
प्रेरणादायी सन्देश
माउन्ट भिन्सनमा नेपाली झण्डा फहराउँदाको अनुभूति सुनाउँदै उहाँले भन्नुभयो, “जहाँसम्म आँखाले देख्छ, त्यहाँसम्म हिउँ नै हिउँ थियो । त्यो दृश्य स्वर्गजस्तै लाग्यो ।” “तपाईं जस्तो व्यक्तिले यो गर्न सक्नुहुन्न भन्ने धेरैले भने,” उहाँले स्मरण गर्नुभयो, “यदि शारीरिक अवस्थाका कारण कसैले केही गर्न सक्दैन भन्छ भने, मलाई देखाउनुस्—हेर्नुस् ।” उहाँको विश्वास छ कि यो सफलताले विश्वभर अपाङ्गता भएका व्यक्तिहरूको जीवनमा सकारात्मक परिवर्तनको सन्देश प्रवाह गर्नेछ।
जीवन यात्रा
रोल्पाको थवाङ गाउँपालिका–स्थित मिरुल गाउँमा जन्मिनुभएका बुढामगरले सन् २०१० मा अफगानिस्तानमा तालिवानसँगको युद्धका क्रममा भूमिगत बम विस्फोटमा परेर दुवै खुट्टा गुमाउनुभएको थियो । त्यसअघि उहाँ ब्रुनाइ, कोसोभो, फकल्याण्डलगायत विभिन्न स्थानमा गोर्खा सैनिकका रूपमा पाँच महादेशमा सेवा गर्नुभएको थियो ।
तीन सन्तानका पिता हरि हाल परिवारसहित बेलायतको क्यान्टबरी, केन्टमा बस्दै आउनुभएको छ । गत वर्ष उहाँ बेलायतको प्रतिष्ठित ‘एमबीई’ अवार्ड तथा ‘प्राइड अफ ब्रिटेन’ सम्मानबाट विभूषित हुनुभएको थियो । उहाँले आफ्नो यो सफलता अपाङ्गता भएका सम्पूर्ण समुदायलाई समर्पित गरेको बताउनुभएको छ ।
माउन्ट भिन्सन आरोहण दलमा अविरल राई, मिङ्मा शेर्पा र जाङ्बु शेर्पा सहभागी थिए । टोलीले ६ जनवरी २०२६ राति १० बजे शिखरमा पाइला टेकेको थियो । हरि बुढामगर माघ १ गते काठमाडौँ आइपुग्ने र त्यसपछि बेलायत फर्केर प्रधानमन्त्रीसँग भेट्ने योजना रहेको जानकारी दिनुभएको छ ।

