वर्षाका कारण नारायणघाट–बुटवल सडक पूर्ण अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
नवलपुर, ५ असार – निरन्तरको वर्षाका कारण पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्ड पूर्णरूपमा अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार विनयी खोलाको डाइभर्सन बग्दा र दाउन्ने क्षेत्रको सडक चिप्लो बनेपछि राजमार्गमा सवारी आवागमन पूर्णरूपमा ठप्प भएको हो।
प्रहरी नायब उपरीक्षक तथा कार्यालयका सूचना अधिकारी मधु नेपालका अनुसार, पुल नहुँदा अस्थायी डाइभर्सनमार्फत सवारीसाधन सञ्चालन हुँदै आएकोमा बाढीले सो डाइभर्सन बगाएको हो। साथै, दुम्कीबास–दाउन्ने सडक खण्डमा विश्वकर्मा मन्दिर, घ्यूखोलालगायत स्थानमा पानीसँगै सडकमा हिलो जम्दा सडक अत्यन्त चिप्लो बनेको छ। नेपालले यत्रातर्फ जान तयार भइरहेका यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गर्नुभएको छ। उहाँका अनुसार—
-
पूर्वबाट पश्चिम जाने सवारीसाधनलाई नारायणघाट–मुग्लिङ–पोखरा–स्याङ्जा हुँदै बुटवलतर्फ जान सुझाव दिइएको छ।
-
काठमाडौँबाट पश्चिमतर्फ जाने सवारीसाधनलाई पनि सोही मार्ग प्रयोग गर्न भनिएको छ।
-
पश्चिमबाट पूर्वतर्फ गइरहेका सवारीसाधनलाई बुटवल–स्याङ्जा–पोखरा–मुग्लिङ हुँदै गन्तव्यमा जान आग्रह गरिएको छ।
साना सवारीसाधनका लागि भने गैँडाकोट (नवलपुर)–पिपलडाँडा (पाल्पा) सडक खण्ड, अर्थात् कालीगण्डकी करिडोर प्रयोग गर्न सकिने नेपालले बताउनुभयो। प्रहरी कार्यालयले राजमार्ग सुचारु नभएसम्म यात्रा योजनामा सावधानी अपनाउन र सम्भव भए वैकल्पिक मार्ग प्रयोग गर्न सबै यात्रु तथा चालकहरूलाई आग्रह गरेको छ।

