आशा भोसलेको निधन, नेपाली सङ्गीत क्षेत्र शोकमा

काठमाडौँ, ३० चैत  – भारतीय पार्श्वगायनकी शिखर व्यक्तित्व आशा भोसले को निधन भएको छ । उहाँको कोकिलकण्ठी स्वरले विश्वभरका करोडौँ श्रोतालाई मोहित बनाउँदै आएको थियो भने नेपाली सङ्गीतप्रेमीका लागि पनि उहाँ उत्तिकै प्रिय नाम हुनुहुन्थ्यो ।

नेपाली गीतसङ्गीतसँग उहाँको सम्बन्ध दशकौँ पुरानो थियो । सन् १९६६ मा प्रदर्शनमा आएको माइतीघर चलचित्रको ‘यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर’ गीतमार्फत उहाँले नेपाली सङ्गीतमा प्रवेश गर्नुभएको थियो । उक्त गीत आज पनि नेपाली समाजमा अत्यन्त लोकप्रिय छ ।

सङ्गीतकार रञ्जित गजमेर सँगको सहकार्यले उहाँलाई नेपाली सङ्गीतमा विशेष पहिचान दिलायो । ‘मोहनी लाग्ला है’, ‘पहाडको माथिमाथि’, ‘गैरी खेतको शिरै हान्यो’ जस्ता थुप्रै चर्चित गीतमा उहाँको स्वर गुन्जिएको छ । नेपाली भाषाको शुद्ध उच्चारण र भावपूर्ण प्रस्तुति उहाँको विशेषता मानिन्थ्यो ।

स्वरसम्राट् नारायणगोपाल सँग उहाँले गाएका युगल गीतहरू विशेष चर्चित छन् । ‘मोहनी लाग्ला है’ र ‘दियो बाली साँझको’ जस्ता गीतले नेपाली सङ्गीतमा अमिट छाप छोडेका छन् । सन् १९३३ मा भारतको महाराष्ट्रमा जन्मिनुभएकी आशाले २० भन्दा बढी भाषामा हजारौँ गीतमा स्वर दिनुभएको थियो ।

‘दम मारो दम’, ‘चुरा लिया है तुमने’ जस्ता बलिउड गीतले पनि उहाँलाई विश्वव्यापी पहिचान दिलाएको थियो । उहाँको निधनसँगै नेपाली मात्र नभई अन्तर्राष्ट्रिय सङ्गीत क्षेत्रले एक युग गुमाएको छ । भौतिक रूपमा उहाँ हामीमाझ नरहे पनि उहाँका कालजयी गीतहरू सधैँ श्रोता मनमा गुञ्जिरहनेछन् ।

Facebook Comments Box