माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख

काठमाडौँ, २६ पुस – आगामी माघ १ गतेदेखि नगद कारोबारको अधिकतम सीमा रु पाँच लाख तोकिएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशनमार्फत सो व्यवस्था लागू गर्न लागेको हो ।निर्देशनअनुसार रु पाँच लाखभन्दा बढीको रकम भुक्तानी गर्दा अनिवार्य रूपमा एकाउन्टपेयी चेकमार्फत वा सम्बन्धित व्यक्तिको बैंक खातामा मात्र भुक्तानी गर्नुपर्नेछ ।

कुनै फर्म, कम्पनी, संस्था वा कार्यालयको नाममा खिचिने चेकको भुक्तानी पनि एकाउन्टपेयी हुनुपर्ने व्यवस्था गरिएको छ । यद्यपि, प्राथमिकता प्राप्त पूर्वाधार आयोजना, जलविद्युत्, सडक र सञ्चार क्षेत्रका कर्मचारी तथा श्रमिकको पारिश्रमिक र ज्याला भुक्तानीमा यस व्यवस्थाले समस्या नपार्ने नेपाल राष्ट्र बैंकले स्पष्ट पारेको छ ।

यसैगरी, विभिन्न आयोजनाका लागि आवश्यक मालसामान आपूर्ति, सरकारलाई बुझाउनुपर्ने राजस्व भुक्तानी, बिगो, धरौटी तथा जमानत रकम जम्मा गर्न, पेन्सन क्याम्पमार्फत पेन्सन वितरण गर्न तथा सरकारले वितरण गर्ने राहत, अनुदान र सहायता रकम भुक्तानीमा पनि कुनै अवरोध नहुने जनाइएको छ । विप्रेषण कम्पनी वा एजेन्टले विप्रेषण प्राप्त गर्ने व्यक्तिलाई नगद भुक्तानी गर्न पाउने व्यवस्था यथावत् रहनेछ ।

त्यसैगरी, बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यसँगको दैनिक कारोबारमा नगद भुक्तानी गर्न सक्नेछन् । उल्लेखनीय छ, सरकारले गत मङ्सिर १५ गते नै नगद कारोबारको सीमा रु पाँच लाखमा सीमित गर्ने निर्णय गरेको थियो । अर्थ मन्त्रालयले सोसम्बन्धी व्यवस्था बिहीबार राजपत्रमा प्रकाशित गरेको हो ।

Facebook Comments Box