चालिस माइक्रोनभन्दा कमका प्लास्टिक झोला नियन्त्रणमा विभाग सक्रिय
काठमाडौँ, २६ पुस – प्लास्टिकको अत्यधिक उत्पादन तथा बिक्री वितरणले वातावरण संरक्षणमा चुनौती थपिँदै गएको भन्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनलाई तीव्र बनाएको छ । पछिल्ला केही दिनदेखि विभागले प्लास्टिक उत्पादन गर्ने उद्योग तथा बिक्री–वितरण गर्ने फर्महरूमा स्थलगत अनुगमन गर्दै ४० माइक्रोनभन्दा कम मोटाइका प्लास्टिक झोला बिक्री वितरण नगर्न सचेत गराउँदै आएको छ ।
सोही क्रममा विभागले शुक्रबार ललितपुरको बालकुमारी प्लास्टिक उद्योगलाई रु ५० हजार जरिवाना गरेको छ । नियमित बजार अनुगमनका क्रममा सो उद्योगले उत्पादन वस्तुको कारखाना मूल्य नतोकेको र उद्योग दर्ताको प्रमाणपत्र सर्वसाधारणले देख्ने गरी नराखेको पाइएकाले जरिवाना गरिएको विभागले जनाएको छ ।
उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३९ अनुसार बजार अनुगमन तथा निरीक्षणका क्रममा तत्काल प्राप्त प्रमाणका आधारमा निरीक्षण अधिकृतले रु ५० हजारदेखि रु एक लाखसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ । सोही कानुनी प्रावधानअनुसार उद्योगलाई कारबाही गरिएको विभागले स्पष्ट पारेको छ । त्यसैगरी, एटिएल प्रोडक्सन हाउसलाई पनि उद्योग दर्ताको प्रमाणपत्र सर्वसाधारणले देख्ने गरी नराखेको पाइएकाले रु ५१ हजार नगद जरिवाना गरिएको छ ।
वातावरण संरक्षणलाई ध्यानमा राख्दै विभागले पछिल्ला दिनमा प्लास्टिक उत्पादन तथा बिक्री वितरणमा देखिएको वेथिती नियन्त्रणमा कडाइ गरेको जनाएको छ । ४० माइक्रोनभन्दा कमका प्लास्टिक झोला बिक्री वितरण नगर्न उद्योग, वितरक तथा आयातकर्तालाई विभागले निरन्तर सचेत गराउँदै आएको छ । शुक्रबार मात्रै १२ वटा उद्योग तथा फर्ममा अनुगमन गरिएको विभागले जनाएको छ भने बिहीबार १९ वटामा अनुगमन गरिएको थियो ।
यसअघि पुस २३ गते बुधबार १४ वटा फर्ममा अनुगमन गर्दै चारवटालाई कुल रु एक लाख १० हजार जरिवाना गरिएको थियो । त्यसैगरी पुस २२ गते मंगलबार १७ वटा फर्ममा अनुगमन गर्दा दुईवटालाई रु ७० हजार जरिवाना गरिएको विभागले जनाएको छ । प्लास्टिकको अनाधिकृत तथा अत्यधिक प्रयोगका कारण वातावरणमा प्रतिकूल असर परिरहेकाले यसलाई नियन्त्रण गर्न विभागले निरन्तर सक्रियता देखाउने जनाएको छ ।

