असावधानीका कारण आगलागीका घटनामा वृद्धि
काठमाडौँ, २५ पुस – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला दिनहरूमा देशभर आगलागीका घटनामा उल्लेखनीय वृद्धि भएको छ । प्राधिकरणका अनुसार यही पुस २३ गते बिहान १०ः०० बजेदेखि बिहीबार बिहानसम्म देशभर १९ वटा विपद्का घटना घटेका छन् । तीमध्ये १५ वटा आगलागीका घटना रहेका छन् ।
उक्त विपद्का घटनामा परेर ४८ जना घाइते भएका छन् भने एक जनाको मृत्यु भएको छ । विपद्का कारण कुल रु १० लाख १२ हजार बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ । यस अवधिमा सुनसरी, सिरहा, सर्लाही र रौतहटका दुई स्थानमा आगलागी भएका छन् । यस्तै, बारा, कैलाली, कञ्चनपुर, अछाम र डडेल्धुरामा पनि आगलागीका घटना भएका छन् ।
सोलुखुम्बु, ओखलढुङ्गा, म्याग्दी, रुकुमपूर्व र कालीकोटमा भने वन डढेलो लागेको छ । उदयपुर, रौतहट, सुर्खेत र डोटीमा जनावरको आक्रमणसम्बन्धी घटना भएका छन् । यसअघि पुस २२ गते बिहानदेखि २३ गतेसम्म देशभर १९ वटा विपद्का घटना घटेका थिए, जसमा १७ वटा आगलागीका थिए ।
पुस २१ गते बिहानदेखि २२ गते बिहानसम्म देशभर २४ वटा विपद्का घटना हुँदा १८ वटा आगलागीका घटना दर्ता भएका छन् । प्राधिकरणका अनुसार हिउँदयाममा विभिन्न कारणले आगलागीका घटना बढ्ने गरेका छन् । विद्युत् सर्ट, पराल वा कुन्यूमा असावधानीवश आगो लाग्नु तथा गोठमा सामान्य सावधानी नअपनाई आगो बाल्दा आगलागीका घटना हुने गरेका छन् ।
प्राधिकरणले आगो बाल्दा विशेष सावधानी अपनाउन, प्रयोगपछि आगो पूर्ण रूपमा निभाउन तथा ज्वलनशील पदार्थ जथाभावी नराख्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

