पानी नपरेर धानको ब्याड सुक्न थाल्यो, किसान चिन्तित
सुनसरी, ३० असार – असारको अन्त्य नजिकिँदा पनि पर्याप्त वर्षा नहुँदा सुनसरीका किसानले लगाएको धानको बिरुवा (ब्याड) सुक्न थालेको छ। सिँचाइ सुविधाको अभाव र विद्युत् आपूर्ति नहुँदा धेरै किसानले अझै रोपाइँ गर्न सकेका छैनन्।
बराहक्षेत्र नगरपालिका–६ अन्तर्गत श्रीलङ्का टापु, चिलैया र गरैया क्षेत्रका किसानहरू वर्षामा भर परेका छन्। तर समयमै पानी नपरेपछि रोपिएको धानको रोपो सुक्न थालेको स्थानीय कृषक सन्तोष चन्द्रवंशीले जानकारी दिनुभयो। “हामी आकाश हेरेर बसेका छौँ, पानी नपरेर रोपो नै सुक्न थाल्यो,” उहाँले भन्नुभयो।
विद्युत् आपूर्ति सबै क्षेत्रमा नपुगेकाले पम्पसेटमार्फत सिँचाइ गर्न नसकिएको उहाँको भनाइ छ। यद्यपि, बराहक्षेत्र नगरपालिकाले ४३ थान विद्युतीय मोटर, ६० थान डेलिभरी पाइप र १५५ थान त्रिपाल किसानलाई अनुदानमा वितरण गरेको छ।
रामधुनी नगरपालिकाका किसान रामभुवन रायले दुई बिघाह खेतमा रोपाइँ गर्ने तयारी गरे पनि अहिलेसम्म आधा खेतमा पनि रोपाइँ गर्न नसकेको बताउनुभयो। वर्षामा भर पर्ने किसानहरूलाई हालको अवस्थाले धान बाली गुम्ने जोखिम देखिएको छ।
कोशी गाउँपालिका–७ की किसान सरस्वती मियाँले जेठमै ब्याड तयार पारे पनि पानी नपरेकाले बिरुवा सुक्न थालेको बताउनुभयो। धरान उपमहानगरपालिका–६ का बुद्धिमान तामाङले कुलोमा पानी नआएपछि रोपाइँ गर्न नसकिएको बताउनुभयो। “पोहोर साल यही बेलासम्म रोपाइँ सकिएको थियो, यसपाली त तीन भागको एक भाग पनि रोपिएको छैन,” उहाँले दुखेसो गर्नुभयो।
कृषि ज्ञान केन्द्र, सुनसरीका प्रमुख निल कमल सिंहका अनुसार जिल्लामा हाल ४८ हजार ९ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदै आएको छ। गत वर्ष असारको अन्त्यसम्म करिब ५० प्रतिशत रोपाइँ सम्पन्न भए पनि यस वर्ष सोही अवधिमा मात्र ३२ प्रतिशत रोपाइँ भएको छ।
किसानहरूले समयमै सिँचाइको उचित व्यवस्था, मल, बीउ र कृषि उपकरणमा अनुदानको माग गरेका छन्। केहीले निजी स्रोतबाट सिँचाइको प्रयास गरे पनि सबै किसानका लागि त्यो सम्भव नहुने भन्दै सरकारी राहत र हस्तक्षेपको आवश्यकता रहेको बताएका छन्।

