पालिका स्तरीय हाजिर जवाफ प्रतियोगिता प्युटारमा सम्पन्न

काठमाडौँ, २४ पुस – आधारभूत तहका विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले बागमती गाउँपालिका स्तरीय हाजिर जवाफ प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा गाउँपालिकाका माल्टा, भट्टेडाँडा, प्युटार, इकुडोल, आस्राङ र गिम्दी क्षेत्रका नौ वटा आधारभूत विद्यालयले सहभागिता जनाएका थिए।

प्रतियोगितामा सहभागी अन्य आठ विद्यालयलाई पछि पार्दै गृह क्षेत्र प्युटारको कालीदेवी माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गरेको छ। गिम्दीको नारायणी माध्यमिक विद्यालय दोस्रो तथा आस्राङको बाल मनोरमा आधारभूत विद्यालय तेस्रो भएको छ। भट्टेडाँडाको भट्टेडाँडा आधारभूत विद्यालयले सान्त्वना पुरस्कार प्राप्त गरेको छ।

प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना स्थान हासिल गर्ने विद्यालय र विद्यार्थीहरूलाई ट्रफी, प्रमाणपत्र, नगद तथा अन्य पुरस्कार प्रदान गरिएको थियो।

नेपाल राष्ट्रिय शिक्षक संगठन बागमती गाउँपालिकाद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा पेशागत महासङ्घ नेपाल, ललितपुरका सचिव तथा बुद्धिजीवी नवराज सञ्जेलले विद्यार्थीहरूको क्षमता पहिचान गर्न यस्ता कार्यक्रम महत्वपूर्ण रहेको उल्लेख गर्दै विद्यार्थीको समग्र सिकाइ उपलब्धिमा अझ सुधार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

कार्यक्रमका विशेष अतिथि तथा बागमती गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष होमप्रसाद बजगाईंले विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलापमा निरन्तर सहभागी गराउनुपर्ने धारणा व्यक्त गर्नुभयो।

प्रतियोगितामा माल्टाको कालीदेवी मावि, इकुडोलको जनजागृति मावि, आस्राङको विद्याधीश्वरी मावि, खैरेनी आधारभूत विद्यालय तथा बागमती आधारभूत विद्यालयको समेत सहभागिता रहेको थियो।

कार्यक्रममा जिल्ला समितिका सल्लाहकार नवराज सञ्जेल, जिल्ला उपाध्यक्ष हरिहर लामिछाने, जिल्ला सचिव दामोदर आचार्य, जिल्ला कोषाध्यक्ष दिलकुमार महर्जन, जिल्ला सदस्यहरू बाबुलाल घलान, रामप्रसाद बजगाईं, कपिन्द्र आचार्य, कालीदेवी माविका प्रधानाध्यापक ठाकुर लामा, शिक्षक हितका सञ्चालक सदस्य तथा नारायणी माविका प्रधानाध्यापक ईश्वर सञ्जेल, महालक्ष्मी संगठन अध्यक्ष शेरबहादुर बस्नेतलगायतको उपस्थिति रहेको थियो।

सहभागी विद्यार्थीहरूले हाजिर जवाफ प्रतियोगितामा सहभागी हुन पाउँदा आफूहरू अत्यन्त खुसी भएको प्रतिक्रिया दिँदै पाठ्यक्रममा आधारित प्रश्नले पढाइमा थप सहयोग पुगेको बताएका छन्।

प्रतियोगितामा प्रथम हुने विद्यालयले नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति ललितपुरद्वारा आयोजना गरिने जिल्लास्तरीय हाजिर जवाफ प्रतियोगितामा सहभागिता जनाउनेछ।

नेपाल राष्ट्रिय शिक्षक संगठन बागमती गाउँपालिका अध्यक्ष गोविन्दप्रसाद तिमल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष थलप्रसाद सापकोटाले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव करणबहादुर चन्दले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

Facebook Comments Box