मिथिलाञ्चलमा माघे सङ्क्रान्तिको भव्य तयारी

महोत्तरी, २४ पुस – महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलमा माघे सङ्क्रान्ति पर्वको भव्य तयारी भइरहेको छ। मिथिलाञ्चलमा यो पर्व तिला सङ्क्रान्ति का नामले पनि प्रसिद्ध छ। यहाँका लोकभाषामा तिला सङ्क्रान्ति भनिने यस पर्वलाई कतैकतै तिला सङ्क्रायत पनि भनिन्छ।

यस पर्वका अवसरमा मिथिलाका घर–घरमा चिउरा, भूजा र तिलमा सख्खर मिसाएर बनाइएको लड्डु खाने परम्परा छ। त्यस्तै, चामल, दाल, घीउ र तरकारी एकैसाथ मिसाएर बनाइने खिचडी खाने चलन पनि रहेको छ।

पर्व नजिकिँदै गर्दा सख्खर, चिउरा, भूजा, तिल, अदुवा, विशेष प्रकारको चामल, उरिद र कुर्थीको दाल, घीउ, तरुल तथा अन्य मौसमी तरकारी जुटाउन सर्वसाधारण व्यस्त देखिन्छन्।

किनमेलका लागि महोत्तरी सदरमुकाम जलेश्वरसहित मिथिलाञ्चलका हाटबजारहरूमा भीडभाड बढेको छ। यस पर्वका लागि मिथिलाञ्चलमा आठ–दश दिनअघिदेखि नै तिल, चिउरा, भूजा र सख्खर ल्याएर मिथिलानी महिलाहरूले लड्डु बनाउने गर्दछन्।

यसै कारण गाउँ–बस्तीमा पर्वको रौनक एक साता अगावै सुरु हुने जलेश्वर–८ की राजवती देवीले बताउनुभयो। सङ्क्रान्तिका दिन एकाबिहानै घरका ज्येष्ठ सदस्य उठेर नित्यकर्मसहित स्नान गरी अरबा चामल, तिल र सख्खर मिसाएर प्रसाद बनाइ कुलदेवतालाई चढाइन्छ।

त्यसपछि सोही प्रसाद घरका सबै सदस्यलाई बाँड्दै ‘हमर तिल बहवे’ अर्थात् मेरो आउँदो जीवनमा मलाई साथ दिनु, मेरो भनाइ मान्नु भन्ने आशीर्वाद र संस्कार दिने चलन रहेको जलेश्वर नगरपालिका–५ का संस्कृतिविद् ध्रुव रायले बताउनुभयो।

उहाँका अनुसार यस कर्मले पुस्तान्तरणमार्फत मिथिलाको संस्कार र संस्कृति संरक्षणमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ, जसले मिथिला सभ्यतालाई जीवन्त राख्न सहयोग पुर्‍याउँछ।

Facebook Comments Box