काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस
काठमाडौँ, २४ पुस – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा उम्मेदवारको नाम सिफारिस गरेको छ।
एमाले काठमाडौँ जिल्ला अध्यक्ष दीपक निरौलाले जिल्लाका सबै निर्वाचन क्षेत्रका लागि आकाङ्क्षी उम्मेदवारहरूको नाम सिफारिस गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार निर्वाचन क्षेत्रीय कमिटीबाट प्राप्त नामहरूमा जिल्ला कमिटीले सुझावसहित राजधानी प्रदेश कमिटीमा उम्मेदवारको नाम पठाएको हो।
एमालेले यही पुस २४ गतेभित्र प्रदेश कमिटीमा उम्मेदवारको नाम सिफारिस गर्न जिल्ला कमिटीलाई निर्देशन दिएको थियो। सोहीअनुसार काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा नाम सिफारिस गरिएको अध्यक्ष निरौलाले बताउनुभयो।
एमाले काठमाडौँले क्षेत्र नं २ र ८ बाहेक सबै निर्वाचन क्षेत्रमा एकजनाभन्दा बढी उम्मेदवारको नाम सिफारिस गरेको छ। क्षेत्र नं २ मा मणिराज फुँयाल र क्षेत्र नं ८ मा राजेश शाक्यको एकल नाम सिफारिस गरिएको छ।
निरौलाका अनुसार काठमाडौँ क्षेत्र नं ५ मा नेता ईश्वर पोखरेल उम्मेदवार बन्न इच्छुक भएमा उहाँलाई नै उम्मेदवार बनाइनेछ भने उहाँ नउठ्ने भएमा वैकल्पिक उम्मेदवारका रूपमा अन्य नामसमेत सिफारिस गरिएको छ।
सिफारिसअनुसार काठमाडौँ क्षेत्र नं १ मा मोहन रेग्मी, शर्मिला कार्की र सरोज ढकालसहित आठ जनाको नाम सिफारिस गरिएको छ। क्षेत्र नं ३ मा रामेश्वर फुँयाल र कृष्ण राईसहित छ जना, क्षेत्र नं ४ मा सचिव डा. राजन भट्टराईसहित १३ जनाको नाम सिफारिस गरिएको छ।
त्यस्तै, काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेलसहित आठ जना, क्षेत्र नं ६ मा केन्द्रीय सदस्य अमनकुमार मास्के र प्रकाश अधिकारीसहित १२ जना, क्षेत्र नं ७ मा केन्द्रीय उपाध्यक्ष रघुजी पन्तसहित ११ जना, क्षेत्र नं ९ मा केन्द्रीय सदस्यद्वय कृष्णगोपाल श्रेष्ठ र डा. अजयक्रान्ति शाक्यसहित सात जना तथा क्षेत्र नं १० मा केन्द्रीय सदस्य विनोद श्रेष्ठसहित सात जनाको नाम उम्मेदवारका रूपमा सिफारिस गरिएको छ।

