राधानदीमा जलस्तर मापन गर्ने ‘रडार लेभल सेन्सर’ जडान

कञ्चनपुर, २४ पुस – कञ्चनपुरको बेदकोट नगरपालिका भएर बग्ने चौधरनदीको मुख्य सहायक राधानदीमा जलस्तर मापन गर्ने ‘रडार लेभल सेन्सर’ (आरएलएस) जडान गरिएको छ । बाढीको पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यले उक्त आधुनिक प्रविधि जडान गरिएको हो ।

इन्स्टिच्युट अफ हिमालयन रिस्क रिडक्सन, डिसिए नेपाल र नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्लुए) कञ्चनपुरको साझेदारीमा सञ्चालित ‘स्मार्ट’ परियोजनाअन्तर्गत रडार लेभल सेन्सर जडान गरिएको परियोजना संयोजक राजकुमार सुनारले जानकारी दिनुभयो । उहाँका अनुसार प्रविधि जडानमा जल तथा मौसम विज्ञान कार्यालय अत्तरिया र बेदकोट नगरपालिकाको सहकार्य रहेको छ ।

नदीमा जडान गरिएको रडार लेभल सेन्सरले नदीको जलस्तरसम्बन्धी वास्तविक समयको तथ्याङ्क सङ्कलन गरी तत्काल जानकारी उपलब्ध गराउने संयोजक सुनारले बताउनुभयो । “यस प्रविधिबाट बर्खायाममा आउन सक्ने सम्भावित बाढीको पूर्वसूचना समयमै प्राप्त हुने र तल्लो तटीय क्षेत्रका नागरिकको जीउधन सुरक्षामा महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ,” उहाँले भन्नुभयो ।

सेन्सर जडानपछि बेदकोट नगरपालिकासँगै भीमदत्त नगरपालिका र बेलडाँडी गाउँपालिकाका तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई समयमै बाढीबारे सचेत गराउन मद्दत पुग्ने उहाँले बताउनुभयो । “हाल प्रविधि जडान मात्र गरिएको हो,” संयोजक सुनारले थप्नुभयो, “वर्षा सुरु हुनुअगावै यसलाई जल तथा मौसम विज्ञान विभागको प्रणालीमा आबद्ध गरिनेछ । त्यसपछि नदीको जलस्तर विभागको वेबसाइटमार्फत प्रत्यक्ष हेर्न सकिनेछ ।”

बेदकोट नगरपालिकाका प्रमुख भोजराज बोहराले नगरपालिकाले विपद् जोखिम न्यूनीकरणका लागि आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकतामा राख्दै आएको बताउनुभयो । यस प्रविधिले बाढीबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न र स्थानीय तहको विपद् व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने उहाँको विश्वास छ ।

Facebook Comments Box