दुई फर्मलाई रु दुई लाख ५० हजार जरिवाना
काठमाडौँ, २३ पुस – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षणसम्बन्धी कानुन उल्लङ्घन गरेको पाइएपछि दुई वटा फर्मलाई नगद जरिवाना गरेको छ। विभागले स्थलगत अनुगमन तथा निरीक्षणका क्रममा कैफियत भेटिएपछि भक्तपुरको चाँगुनारायण–२ स्थित मञ्जुश्री प्लास्टिक इण्डस्ट्रिजलाई रु दुई लाख जरिवाना गरेको हो।
त्यस्तै, काठमाडौँस्थित श्री पोलिथिन एण्ड प्लास्टिक उद्योग प्रालिलाई रु ५० हजार जरिवाना गरिएको विभागले जनाएको छ। विभागका अनुसार ती उद्योगहरूले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ (२) (क) र दफा ३८ बमोजिमको कसुर गरेको पाइएकाले सोही ऐनको दफा ३९ (१) (ख) अनुसार कारबाही गरिएको हो।
विभागले काठमाडौँ र भक्तपुरका विभिन्न १७ वटा उद्योग तथा फर्ममा अनुगमन निरीक्षण गरेको थियो। तीमध्ये १५ वटा फर्मलाई सुधारात्मक निर्देशन दिइएको छ। स्थानीय प्रशासन तथा उपभोक्ता अधिकारकर्मीको सहभागितामा विभागले बजार अनुगमन तथा निरीक्षण कार्यलाई निरन्तरता दिँदै आएको जनाएको छ।

