‘बिटुमिन’ जम्न नपाउँदा कालोपत्र सडक भत्कियो, सुधार गर्ने प्रतिबद्धता
म्याग्दी, २१ पुस – कालोपत्र सम्पन्न भएको एक महिनामै भत्किन थालेको बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडकको सुधार गर्ने प्रतिबद्धता सम्बन्धित कार्यालय र निर्माण व्यवसायीले जनाएका छन्। सडक डिभिजन कार्यालय बागलुङमार्फत ‘एक निर्वाचन क्षेत्र, एक सडक’ आयोजना अन्तर्गत सञ्चालित बेनी–१ रत्नेचौरदेखि वडा नं २ भकुण्डे जोड्ने सडक निर्माणको गुणस्तरबारे उठेका प्रश्नलाई लिएर आइतबार बेनीमा सरोकारवालाबीच छलफल गरिएको हो।
जिल्ला समन्वय समितिको आयोजनामा भएको बैठकले सडक डिभिजन कार्यालय बागलुङलाई निर्माण कार्यको गुणस्तर सुनिश्चित गर्ने जिम्मेवारी बोध गराउँदै हालसम्म भएका कामको अनुगमन गरी आवश्यक सुधार गर्ने तथा आगामी निर्माणसमेत गुणस्तरीय बनाउने प्रबन्ध मिलाउने निर्णय गरेको जिल्ला समन्वय समितिका कार्यबाहक प्रमुख डिलकुमारी खत्रीले जानकारी दिनुभयो।
कार्यबाहक प्रमुख खत्रीको अध्यक्षतामा सम्पन्न बैठकमा बेनी नगरपालिकाका प्रमुख सुरत केसी, सडक डिभिजन कार्यालय बागलुङका प्रमुख वरिष्ठ डिभिजनल इञ्जिनीयर हरि सुवेदी, सम्बन्धित प्राविधिक, बेनी–१ का वडाध्यक्ष टेकबहादुर थापा, बेनी–२ का वडाध्यक्ष यामबहादुर कार्की, अन्य जनप्रतिनिधि, निर्माण कम्पनीका प्रतिनिधि अरुण सेढाइँ, अनुगमन समिति तथा उपभोक्ताको उपस्थिति रहेको थियो।
बिटुमिनले सडकमा छरेको चिप्स नसमात्दा कालोपत्र भत्किन थालेको र खाल्डाखुल्डी बनेको विषयमा यही पुस ४ गते भकुण्डेमा आयोजित सार्वजनिक सुनुवाइमा प्रश्न उठेको थियो। त्यसपछि पुस ९ गते जनप्रतिनिधि र स्थानीयवासीको टोलीले सडक डिभिजन कार्यालयमा पुगेर ध्यानाकर्षण गराएका थिए।
बेनी–२ का वडाध्यक्ष कार्कीले बेसमा धुलो रहेकाले बिटुमिन जम्न नसक्दा दुई चरणमा गरिएको कालोपत्र भत्किन थालेको बताउनुभयो। उपल्लाचौर–अर्जम–बिमिराबोट खण्डको चार किलोमिटर पाँच सय मिटर सडकमा हालै दोस्रो चरणको कालोपत्र सम्पन्न भएको छ। यस्तै, बिमिराबोट–भकुण्डे–तमाने खण्डको चार किलोमिटर सडकमा कालोपत्रका लागि बेस र सबबेस राख्ने तयारी भइरहेको छ।
नौ मिटर फराकिलो बनाइएको सडकमा सात मिटर चौडाइमा डिबिएसडी प्रविधिबाट कालोपत्र र ढलान गर्ने सम्झौता भएको छ। उक्त योजना निर्माणका लागि विसं २०७९ भदौ ६ गते गजेन्द्र–नयाँबाटो जेभीसँग रु २३ करोड ३२ लाखमा ठेक्का सम्झौता गरिएको थियो। ३० महिनाको ठेक्का अवधि रहेको योजनाको म्याद २०८२ फागुनसम्म थप गरिएको छ।
सडक डिभिजन कार्यालयका अनुसार हालसम्म करिब ७५ प्रतिशत भौतिक प्रगति भएको छ। कार्यालयका प्रमुख सुवेदीले ठेक्का अवधि र मर्मत अवधिभर सडकलाई तोकिएको गुणस्तर र मापदण्डअनुसार नै निर्माण गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
“चिसोका कारण जमेको बिटुमिन गर्मी बढेपछि र सवारी साधनको चाप परेपछि पग्लिएर चिप्स र सतहलाई समात्ने विश्वास गरेका छौँ,” उहाँले भन्नुभयो, “यदि गर्मीयाममा पनि चिप्स समात्न नसकेर सडक भत्किने अवस्था देखिएमा तोकिएको गुणस्तरअनुसार सुधार गराएर मात्र हस्तान्तरण गराइनेछ।” निर्माण कम्पनीले भत्किएका स्थानको सुधारका लागि पत्राचार गरिसकेको सुवेदीले जानकारी दिनुभयो।
निर्माण कम्पनीका आयोजना व्यवस्थापक सेढाइँले बर्खाअघि गरिएको पहिलो चरणको कालोपत्र र बेस बाढीले क्षति पुर्याएको र दोस्रो चरणमा चिसोका कारण बिटुमिन जमेर चिप्स निस्किएको उल्लेख गर्दै गर्मी बढेपछि अवस्था सुधार हुने विश्वास व्यक्त गर्नुभयो। त्यसपछि पनि समस्या देखिए गुणस्तर र मापदण्डअनुसार सुधार गरेर मात्र योजना हस्तान्तरण गरिने उहाँको भनाइ छ।

