ठगीबाट सचेत रहन बेलायतस्थित नेपाली दूतावासको आग्रह
बेलायत, २१ पुस – बेलायतमा ‘वर्क परमिट’ दिलाइदिने बहानामा ठगीका घटना बढ्दै गएको भन्दै लण्डनस्थित नेपाली दूतावासले नेपाली समुदायलाई सचेत रहन आग्रह गरेको छ। दूतावासले जारी गरेको विज्ञप्तिमा कामका लागि प्रायोजक खोजिदिने बहानामा नेपालीहरू ठगीमा परेको गुनासो बढ्दै गएको उल्लेख गर्दै यस्ता गतिविधिबाट जोगिन अनुरोध गरिएको छ।
ठगीमा परेको गुनासो गर्नेहरूमध्ये नेपालबाट बेलायत आउन चाहने नेपालीको सङ्ख्या बढी रहेको दूतावासले जनाएको छ। त्यस्तै, बेलायतमै रहेर रोजगारीको खोजीमा रहेका केही नेपालीसमेत ठगीमा परेको गुनासो प्राप्त भइरहेको दूतावासले जनाएको छ। विज्ञप्तिमा भनिएको छ, “ठगी गर्नेहरू कतिपय नेपाली मूलका व्यक्तिहरू नै रहेको बुझिएको छ भने चिनजानकै नेपालीमार्फत तेस्रो मुलुकका व्यक्तिसँग सम्पर्कमा पुगेर ठगीमा परेका गुनासो पनि आएका छन्।”
यस्ता अपराध नेपाल र बेलायत दुवै मुलुकमा दण्डनीय हुने भएकाले समस्या परेमा नेपालका सम्बन्धित अनुसन्धान निकाय तथा बेलायतका स्थानीय प्रहरी कार्यालय र नेशनल एन्टी–फ्रड नेटवर्क (एक्सन फ्रड) मा उजुरी गर्न दूतावासले सुझाव दिएको छ।
बेलायतका लागि कार्यवाहक नेपाली राजदूत विपिन दुवाडीले प्रमाणसहित दूतावासमा आउने पीडितको न्यायका लागि आवश्यक सहजीकरण गर्न दूतावास तयार रहेको बताउनुभयो। समस्यामा परेका नेपालीलाई दूतावासको इमेलमार्फत वा +४४–७४०४९३९२७४ नम्बरमा सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ।

