पदयात्रा पथप्रदर्शकलाई तीन दिने चरा पहिचान तालिम
गण्डकी, २१ पुस – नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय र पोखरा पन्छी समाजको संयुक्त आयोजनामा पदयात्रा पथप्रदर्शकका लागि तीन दिने चरा पहिचान तालिम सम्पन्न भएको छ। पदयात्रामा जाने पर्यटकलाई चराहरूबारे जानकारी गराउन सहज बनाउने उद्देश्यले गण्डकी प्रदेशका पदयात्रा क्षेत्रमा कार्यरत ३६ जना पथप्रदर्शकलाई तालिम दिइएको पोखरा पन्छी समाजका अध्यक्ष मनशान्त घिमिरेले जानकारी दिनुभयो।
तालिममा नेपाल पन्छीविद् सङ्घका अध्यक्ष हठनराम महतो, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का प्रमुख रविन कडरिया, काठमाडौँ इन्भाइरोन्मेन्टल एजुकेशन प्रोजेक्ट (किप) का कार्यकारी सदस्य गोपी श्रेष्ठलगायत पन्छीविद्हरूले चरा अवलोकनका विभिन्न पक्षबारे सैद्धान्तिक तथा स्थलगत अभ्यासमार्फत प्रशिक्षण दिएका थिए।
आइतबार सम्पन्न तालिम समापन समारोहमा पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पर्यटनका विविध विधामध्ये चरा पर्यटन महत्वपूर्ण पक्ष भएको उल्लेख गर्नुभयो। नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले कतिपय पर्यटक चरा अवलोकनका लागि मात्रै आउने भएकाले त्यस्ता पर्यटकलाई लक्षित गर्दै पथप्रदर्शकले यस क्षेत्रमा आवश्यक विज्ञता हासिल गर्नुपर्ने बताउनुभयो।
नेपाल पन्छीविद् सङ्घका अध्यक्ष हठनराम महतोले चरा पर्यटनमा संलग्न हुन चाहनेले प्रविधिको प्रयोगसँगै गहिरो रुचि र विषयगत ज्ञान आवश्यक हुने धारणा व्यक्त गर्नुभयो।

