श्रमदानमार्फत धन्नेश्वरी गुफा सरसफाइ

खोटाङ, २१ पुस – साकेला गाउँपालिका–२ रतन्छास्थित धन्नेश्वरी गुफामा जनश्रमदानमार्फत सरसफाइ गरिएको छ। गाउँपालिकाको ‘श्रम साकेला अभियान’ अन्तर्गत वडा कार्यालय रतन्छाको अगुवाइमा गाउँपालिका अध्यक्ष रविप्रकाश राई, उपाध्यक्ष बिर्सिका राई, जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीको सहभागितामा गुफा क्षेत्रको सरसफाइ गरिएको हो।

लामो समयदेखि संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेको धन्नेश्वरी गुफाको धार्मिक तथा पर्यटकीय विकासका लागि साकेला गाउँपालिकाले विशेष चासो देखाएको छ। गाउँपालिकाका अनुसार आगामी दिनमा गुफासम्म पुग्ने व्यवस्थित पैदलमार्ग निर्माण, गुफा वरिपरि आकर्षक संरचना निर्माण, गुफाभित्र उज्यालोका लागि बत्ती जडान तथा भित्री भागसम्म पुग्न सिँढी निर्माण गर्ने योजना अघि बढाइनेछ।

स्थानीयवासीका अनुसार धन्नेश्वरी गुफाको सुरुङ दायाँ–बायाँ करिब सयौँ मिटरभन्दा बढी फैलिएको अनुमान गरिएको छ। गुफाभित्र देखिने ठूलाठूला नागका आकृति तथा विभिन्न देवी–देवताका आकृतिले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने गरेको बताइन्छ।

परापूर्वकालमा भगवान् शिव राक्षसबाट बच्न धन्नेश्वरी गुफामा लुकेर बसेको र पछि त्रिधार्मिकस्थल हलेसी गई बसोबास गरेको भन्ने किम्बदन्ती प्रचलित छ। रामनवमी, बालाचतुर्दशी, तीज तथा एकादशीजस्ता महत्वपूर्ण पर्वका अवसरमा यहाँ मेला लाग्ने गर्दछ।

गाउँपालिका अध्यक्ष रविप्रकाश राईले धार्मिक तथा पर्यटकीय स्थलहरूको विकासका लागि दीर्घकालीन योजनासहित गाउँपालिका अघि बढिरहेको बताउँदै धन्नेश्वरी गुफालाई व्यवस्थित धार्मिक–पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। “निर्वाचित भएर आएपछि जनजीविकासँगै गाउँपालिकाभित्रका धार्मिक तथा पर्यटकीय स्थलहरूको स्तरोन्नतिमा ध्यान दिँदै आएका छौँ,” उहाँले भन्नुभयो,

“साकेला गाउँपालिका आफैँमा पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो।” गुफाको सौन्दर्यकरणका लागि चालु आर्थिक वर्षमा कोशी प्रदेश सरकारले १० लाख रुपैयाँ बजेट विनियोजन गरेको गाउँपालिकाले जनाएको छ।

Facebook Comments Box